काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिकाबमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।
सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको चन्दै उनले कुनै पनि हालतमा तोकिएकै समयमा काम सक्नुपर्ने बताए । उनले संसद् भवनको निर्माण कार्यमा अनाश्यक ढिलासुस्ती नगर्न निर्देशन दिए । संसद् भवनकै कारण मन्त्रालयको कार्यप्रगतिमा प्रश्न उठेको भन्दै उनले केही समस्या परे मन्त्रालयले समन्वय गर्ने बताए । निर्माण कार्यमा हुने आलटाल अब स्वीकार्य नहुने उनले बताए । निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न समेत मन्त्री सिंहले निर्देशन दिए ।
बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराएका थिए । साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङ कामलगायतका कामहरू बाँकी रहेको उनले जानकारी दिए ।
निर्माण व्यवसायीले आवश्यकभन्दा न्यून कामदार लगाएको उनको भनाइ छ । काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्योअनुसार काम नगरेको भन्दै उनले असन्तुष्टि जनाए । निर्माण व्यवसायीले भने धेरै काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार काम अघि बढाउन प्रतिबद्धता रहेको बताएका छन् । संसद् भवनको काम सक्ने अन्तिम मिति पुस अन्तिम साता तोकिएको छ ।