काठमाडौं — चीन र भारतले नेपाललाई बाइपास गर्दै विवादित लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा मंगलबार भएको वार्तामा दुवै देशले लिपुलेकसहित तीन व्यापारिक नाकाहरू खोल्ने निर्णय गरेका हुन्।भारतीय प्रमुख सुरक्षा सल्लाहकार तथा सीमा विवादबारे विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा वाङ यी सोमबार नयाँदिल्ली पुगेका थिए। वार्ता सम्पन्न भएपछि भारतको विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिमा उल्लेखित ८औँ बुँदामा भनिएको छ, “दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।”लिपुलेक नेपाली भूभाग हो, जसको उत्तरतर्फ चीनको तिब्बत पर्छ। लिपुलेकभन्दा करिब १७ किलोमिटर पश्चिम लिम्पियाधुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मानेको छ। तर, भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ र त्यहाँ सैन्य तथा सामरिक संरचना पनि स्थापना गरेको छ। यही मार्ग भारतबाट चिनियाँ नाकासम्म पुग्ने सबैभन्दा छोटो र रणनीतिक रूपमा महत्वपूर्ण बाटो मानिन्छ।चीन र भारतबीच यस्तो सहमति प्रधानमन्त्री केपी शर्मा ओली चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (SCO) सम्मेलनमा सहभागी हुनुअघि भएको हो। सो सम्मेलनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेटवार्ता हुने अपेक्षा गरिएको छ। यसअघि पनि दुवै देशले नेपाललाई बाइपास गर्दै लिपुलेक प्रयोगबारे सहमति गर्दा नेपालले कडा आपत्ति जनाएको थियो। तर, यसपटकसम्म नेपाल सरकारको औपचारिक प्रतिक्रिया आएको छैन।