नयादिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही अगस्टको अन्त्यमा चीन जाने भएका छन् । उनको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिएका हुन् ।
एएफपीका अनुसार मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछन् । यो सन् २०१८ पछि उनको पहिलो चीन भ्रमण हुनेछ । बैठकको सुरुमा डोभालले ‘प्रधानमन्त्रीको भ्रमणले भारत–चीन कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा दिनेछ’ भन्दै टिप्पणी गरेका थिए ।
एससिओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले ‘विशेष महत्व दिने’ बताउँदै वाङ यीले भने, ‘स्वस्थ र स्थिर चीन–भारत सम्बन्धले दुवै देशको मौलिक र दीर्घकालीन हितमा काम गर्छ भन्ने कुरा इतिहास र वास्तविकताले फेरि प्रमाणित गरेको छ ।’ वाङ यीले मंगलबारपछि मोदीलाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेको छ ।
विश्वमै सबैभन्दा धेरै जनसंख्या रहेका दुई मुलुक लामो समयदेखि दक्षिण एसियामा प्रभावका लागि प्रतिद्वन्द्वी रहँदै आएका छन् । सन् २०२०मा तिनीहरूबीच घातक सीमा द्वन्द्व समेत भएको थियो ।
भारत हाल संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको ‘क्वाड सुरक्षा गठबन्धन’ को सदस्य छ । क्वाडलाई चीनविरुद्धको कदमको रूपमा हेरिन्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले उत्पन्न गरेको विश्वव्यापी व्यापार र भू–राजनीतिक उथलपुथलबीच भारत र चीन दुवैले सम्बन्ध सुधारतर्फ ध्यान दिएका छन् । सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशड्ढरसँगको वार्तामा वाङ यीले भनेका थिए, ‘हामीले एकअर्कालाई विरोधी वा खतराको रूपमा नभई साझेदार र अवसरका रूपमा हेर्नुपर्छ ।’