काठमाडौं।ठमेलस्थित चाक्सीवारीमा १० वर्षअघि भव्य रूपमा सञ्चालनमा आएको होटल आर्टस काठमाडौं ४८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि लिलामीमा गएको छ।गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ सालको फागुनदेखि सञ्चालनमा ल्याएको ६० कोठे होटलले राष्ट्रिय वाणिज्य बैंकको ऋण चुक्ता गर्न नसकेपछि बैंकले ४८ करोड १७ लाख रुपैयाँ न्यूनतम मूल्य तोकी लिलामीको सूचना सार्वजनिक गरेको हो। होटलमा त्यसबेला करिब ५० करोड रुपैयाँ लगानी गरिएको थियो। आकर्षक सुविधा र ८ तल्ले संरचनासहित खुलेको उक्त होटलबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने व्यवस्था थियो।भट्टले २०६० सालमै किनेको १५ आनामा जग्गामा होटल निर्माण गरेका थिए। तर, ओभरड्राफ्ट, १० प्रतिशत ब्याजदरमा लिएको कोभिड कर्जा र आवधिक कर्जासहित बैंकको सम्पूर्ण ऋण चुक्ता गर्न नसकेपछि होटलसहितको सम्पत्ति लिलामीमा चढेको हो। बैंकले भट्ट र उनकी श्रीमती लक्ष्मीको नाममा रहेको एक रोपनी जग्गा र भवनसहितका उपकरण समेत लिलामी गर्ने जनाएको छ। बैंकका अनुसार पटक–पटक लिखित र मौखिक ताकेता गरे पनि ऋण नतिरेपछि धितो सम्पत्ति लिलामी गर्न बाध्य भएको हो।बैंकले भट्टलाई १५ दिनको अन्तिम समयसीमा तोकेको छ। यस अवधिमा सम्पर्क गरी सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता नगरे सम्पत्ति लिलामीमार्फत बेच्ने वा आवश्यक परे बैंक आफैंले सकार गर्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने चेतावनी दिएको छ। ३४ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न भट्टको भव्य होटल सञ्चालन गर्ने योजना ऋण तिर्न नसक्दा पूर्ण रूपमा असफल भएको छ।