काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जको हिरासत कक्षमा मंगलबार दिउँसो झडप हुँदा एक जना घाइते भएका छन्। घटना दिउँसो करिब ४ बजे भएको हो। महाराजगञ्ज बस्ने एक व्यक्तिले “शान्ति–सुरक्षा पाउँ” भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए। उजुरीको आधारमा प्रशासनबाट प्रहरी परिसर हुँदै प्रहरी वृत्तमा निवेदन आएपछि प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो।
छलफलका क्रममा प्रहरीलाई थाहा भयो कि ती व्यक्तिलाई चितवन जिल्ला अदालतले ४७ लाख ५१ हजार ३५४ रुपैयाँ जरिवाना तिर्ने सजाय सुनाएको रहेछ। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो।तर, हिरासतमा रहेका अन्य थुनुवासँग विवाद भएपछि झडप सुरु भएको प्रहरीको भनाइ छ। झडपका क्रममा ती व्यक्तिलाई चोट लाग्दा ग्रिनसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो। घटनापछि थप बुझ्दा ती व्यक्तिले जरिवाना भुक्तान गरिसकेको खुलेको र अहिले उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।