काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले वैदेशिक भ्रमण स्वीकृति, ठूला ऋण सम्झौता, उच्चस्तरीय नियुक्ति, कानुनी संशोधन र नीतिगत विषयमा बहुआयामिक निर्णयहरू गरेको हो। बैठकले थाइल्यान्डको बैंककमा आयोजना हुने “Resilient Supply Chains and Equitable Growth in a Changing World of Work” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई सहभागिताको स्वीकृति दिएको छ। त्यस्तै, इन्डोनेसियामा हुने “Anti-Corruption Initiative for Asia and the Pacific 2025” कार्यक्रममा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुने स्वीकृति प्रदान गरिएको छ।
इजिप्टमा आयोजना हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संगठन INTOSAI को २५औं महाधिवेशनमा महालेखापरीक्षक तोयम राया नेतृत्वको टोलीलाई पठाउने निर्णय गरिएको छ। त्यसैगरी, कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने ३४ अर्ब ४९ करोड येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गरिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्य राष्ट्रहरूको फन्ड कोटा ५० प्रतिशतले वृद्धि गर्ने प्रस्तावमा समर्थन जनाउँदै, थप हुने ७८.४५ मिलियन एसडिजारमध्ये २५ प्रतिशत चालु आर्थिक वर्षको बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा अर्थपत्र जारी गरी भुक्तानी गर्ने निर्णय गरिएको छ।
बैठकले लिज फाइनान्ससम्बन्धी विधेयक तर्जुमा गर्ने सिद्धान्त स्वीकृत गरेको छ भने समृद्धिका लागि वन परियोजना अनुदान तथा ऋण सम्झौता संशोधनलाई पनि अनुमोदन गरेको छ। यसैगरी, छानबिन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय भएको छ।
बैठकले मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली २०८२ (पहिलो संशोधन) स्वीकृत गर्दै प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरेलाई नियुक्त गरेको छ। सदस्यमा अधिवक्ता नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठ रहने छन्।
त्यस्तै, युगान्डाको कम्पालामा आयोजना हुने AALCO को ६३औं एनुअल सेसनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई सहभागिताको स्वीकृति दिइएको छ। खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाका लागि ७६ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ भने CEDAW की सदस्य बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने निर्णय गरिएको छ।
बैठकले थाइल्यान्डको बैंककमा हुने एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २०औं मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सहभागी गराउने स्वीकृति प्रदान गरेको छ। नेपाली सेनामा एक उपरथीलाई वैदेशिक भ्रमण स्वीकृति दिँदै, ६ जना सहायक रथी र ७ जना महासेनानीको सरुवा तथा एक महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८२ तर्जुमा गर्ने सिद्धान्त स्वीकृत गर्दै, रसियामा हुने 11th St. Petersburg United Cultures Forumमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई सहभागी गराउने स्वीकृति प्रदान गरिएको छ।
बैठकले धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति दिएको छ। त्यस्तै, आदिवासी जनजाति आयोगका सदस्य शरण राईलाई हङकङमा हुने ३१औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।
त्यस्तै, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुने स्वीकृति प्रदान गरिएको छ।
बैठकले मालपोत नियमावली २०८२ (आठौं संशोधन) र स्ट्यान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली २०८२ (दोस्रो संशोधन) स्वीकृत गरेको छ। साथै, राष्ट्रिय युवा नीति २०८२ र दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालसँग मुख्यालय सम्झौतालाई अनुमोदन गरेको छ।
अन्तमा, मेलमिलापसम्बन्धी ऐन २०६८ संशोधन विधेयक संघीय संसदमा पेस गर्ने स्वीकृति दिँदै बैठक सम्पन्न भएको हो।
