काठमाडौं । लघुवित्त संस्थाहरु चर्को दबाबमा परेका छन् । घट्दो नाफा, बढ्दो सञ्चालन खर्च र बढ्दो खराब कर्जाकै बीचमा सेयरधनीहरुलाई लाभांश वितरण गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण संस्थाहरू दबाबमा देखिएका हुन् ।
पछिल्लो समय खराब कर्जाको अनुपात बढ्दै जाँदा लघुवित्तहरुको नाफा घट्दै गएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा लघुवित्त संस्थाहरुको व्यवसायमा नै असर पार्ने गरी विगतमा गरेको आन्दोलन तथा धर्ना जुलुसले समेत यी संस्थाहरुमाथि जनविश्वास घटेको छ । उच्च खराब कर्जा र घट्दो नाफाको दबाबका बीच सर्वसाधारणलाई न्यायोचित लाभांश वितरण गर्नुपर्ने हुँदा थप दबाब सिर्जना भएको हो ।
५२ लघुवित्तमध्येमा हालसम्म ४४ वटाले गत आर्थिक वर्षको अपरिष्ककृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेस्डो, मातृभूमि र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ भने खराब कर्जाको अनुपात बढेर २१ प्रतिशतसम्म पुगेको छ ।
गत आवको चौथो त्रैमासमा एनआईसी एसियाले ४४ करोड ८६ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा १६ दशमलव १९ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा नाफा १२ करोड ७१ लाख २४ हजार र खराब कर्जा नौ दशमलव ९२ प्रतिशत थियो । त्यसैगरी, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक करोड ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा २१ दशमलव शून्य छ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा उक्त संस्थाले १२ करोड १७ लाख २२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा २६ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यता मातृभूमि लघुवित्तले पनि पछिल्लो अवधिमा पाँच करोड ७९ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा आठ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा दुई करोड ७३ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको संस्थामा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको चौथो त्रैमासमा सबैभन्दा कम खराब कर्जा सपोर्ट लघुवित्तमा र सबैभन्दा बढी नेस्डो समृद्ध लघुवित्त संस्थामा देखिएको छ । सर्पोटमा एक दशमलव ५८ प्रतिशत र नेस्डोमा २१ प्रतिशत कर्जा खराब देखिएको छ । यीबाहेक अन्य संस्थाहरुमा भने नाफा सामान्य देखिए पनि खराब कर्जा बढेको छ । कालिका लघुवित्तले गत आवको चौथो त्रैमासमा १० करोड ८० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ६७ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले सात करोड ९२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ७९ प्रतिशत कर्जा खराब देखिएको थियो ।
त्यसैगरी, हिमालयन र महुली लघुवित्तले भने गत आवको चौथो त्रैमासमा क्रमशः नौ करोड १७ लाख ७३ हजार र ११ करोड ४५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ३३ र चार दशमलव ८० प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा हिमालयनले २० लाख सात हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा महुलीले तीन कारेड २१ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने खराब कर्जा क्रमशः तीन दशमलव ४९ र तीन दशमलव ९४ प्रतिशत देखिएको थियो ।
सीवाईसी र आशा लघुवित्तले पनि पछिल्लो अवधिमा क्रमशः ११ करोड ७४ लाख ७८ हजार र २० करोड ९२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ५४ र चार दशमलव ४८ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुई संस्थाले क्रमशः तीन करोड ८० लाख ८८ हजार र छ करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव पाँच र चार दशमलव ८१ प्रतिशत कर्जा खराब देखिएको थियो ।
गत आवको चौथो त्रैमासमा गुराँस र सर्पोट लघुवित्तले क्रमशः तीन करोड ९५ लाख ८३ हजार र पाँच करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः दुई दशमलव ९१ र एक दशमलव ५८ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुले क्रमशः दुई करोड आठ लाख ३७ हजार र दुई करोड १२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ६७ र एक दशमलव ८२ प्रतिशत कर्जा खराब देखिएको थियो ।
इन्फिनिटी र आरम्भ चौतारी लघुवित्तले पनि पछिल्लो अवधिमा क्रमशः नौ करोड ३७ लाख ५५ हजार र नौ करोड ४४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः सात दशमलव ४३ र दुई दशमलव १३ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुई संस्थाहरुले क्रमशः पाँच करोड ५७ लाख ९८ हजार र छ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः १० दशमलव १९ र चार दशमलव २१ प्रतिशत कर्जा खराब देखिएको थियो ।
फस्र्ट, स्वाभिमान र समता घरेलु लघुवित्तले पनि गत आवको चौथो त्रैमासमा क्रमशः १३ करोड १७ लाख २६ हजार, सात करोड २३ लाख ५० हजार र आठ करोड ४९ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ८४, चार दशमलव ३० र छ दशमलव ८७ प्रतिशत कर्जा खराब देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने यी संस्थाहरुले क्रमशः १४ करोड छ लाख ४९ हजार, ७८ लाख ७२ हजार र दुई करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव १६, सात दशमलव ३५ र १० दशमलव ४५ प्रतिशत कर्जा खराब देखिएको थियो ।
यीबाहेकका नाडेप, मेरो माइक्रो फाइनान्स, एनएमबी, अभियान, ग्लोबल आईएमईसहितका झण्डै तीन दर्जन संस्थाहरुको खुद नाफा पनि गत आवको चौथो त्रैमासमा सन्तोषजनक देखिएको छ ।