काठमाडौं । ब्रान्ड बिल्डिङ, ब्रान्ड पोजिसनिङ, मार्केटिङ, स्टोरीटेलिङसँगै क्रिएटिभ, व्यावसायिक व्यक्ति तथा जिज्ञासुहरुको सहभागितामा ब्रान्ड्स एन्ड बियोन्ड–२०२५ हुने भएको छ ।
यही भदौ १९ र २० गते ललितपुरको द प्लाजामा सो कार्यक्रम हुने भएको हो । ब्रान्ड गफले दोस्रो संस्करणको रुपमा सञ्चालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलोपटक आयोजना गरिएको थियो । पहिलो संस्करणमा विश्वविख्यात क्रियटिभ डाइरेक्टर र ब्रान्ड स्टाटेजिस्टहरुको उपस्थिति रहेको थियो । यस संस्करणमा पनि अन्तर्राष्ट्रियस्तरमा ब्रान्ड र मार्केटिङको क्षेत्रमा लामो समय काम गरी आफूलाई स्थापित गरेका ब्रान्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने जनाइएको छ ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभी, दुबईबाट सारा फोब्र्स, श्रीलंकाबाट सोहन धर्मराजा, सिंगापुरबाट स्टेफन सेवार्ज र बंगलादेशबाट तफिक मुमदलगायत रहनेछन् । उनीहरुले मार्केटिङको पछिल्लो ट्रेन्ड र स्टाटेजी सँगसँगै केस स्टडीको बारेमा सहभागीहरुलाई जानकारी गराउनेछन् । नेपाल विज्ञापन बोर्डको समेत सहकार्य रहेको यस कार्यक्रममा नेपालको विभिन्न ब्रान्ड क्रियटर्स र मार्केटर्सहरुसँगको अन्र्तक्रिया समेत समावेश हुनेछ । कार्यक्रममा विभिन्न आठ विषयगत सेसनहरु सञ्चालन हुनेछन् । जसमा ब्रान्ड र मार्केटिङको क्षेत्रमा विश्वमा कहाँ के भइरहेको छ ? अहिलको ट्रेन्ड के छ ? डिजिटल मिडिया र एआईसम्मको आजको युगमा अबको मार्केटिङ बजार कस्तो हुनुपर्छ ? अवसर कस्ता छन् र चुनौतीहरु के छन्जस्ता विषयहरुमा छलफल र मन्थन हुनेछ ।
ब्रान्ड र मार्केटिङ क्षेत्रका दिग्गजदेखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकै ठाउँमा राखेर उनीहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ क्षेत्रलाई योगदान दिने आयोजकले विश्वास लिएको छ । विभिन्न अनौपचारिक कार्यक्रमहरु पनि समावेश गरिएकाले पाहुना र सहभागीहरुबीच खुलेर छलफल हुने र भोलिका दिनमा एक आपसमा सम्बन्ध स्थापित गरी ब्रान्ड र मार्केटिङको क्षेत्रमा नयाँ सम्भावनाहरुको ढोका खुल्न सक्ने अवसर हुने भन्दै आयोजकले यस क्षेत्रमा आबद्ध रहेका सबैलाई जोडिन आग्रह गरेको छ ।