दार्चुला । दार्चुलामा बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ गइरहेको जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जानकारी दिए ।
ग ३ च ३३५१ रातो नम्बर प्लेटको जिप दुर्घटनामा परी नौगाड गाउँपालिका–३ का २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएको उनले जानकारी दिए ।
यस्तै, नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीय उमेशसिंह ठगुन्ना, १२ वर्षीय राम महत र श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीय लक्ष्मी कार्की सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ११ जना सवार रहेको गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।