काठमाडौं ।नेपाल वायुसेवा निगम (एनएसी) का दुवै न्यारोबडी एयरबस जहाज एकपछि अर्को ग्राउन्डेड भएपछि बुधबार राति साउदी अरब र काठमाडौँमा २१० यात्रु अलपत्र परेका छन्। जहाज बिग्रिएपछि निगमका छोटो दूरीका उडानहरू प्रभावित भएका छन् भने सयौँ यात्रु अर्को केही दिनसम्म अलपत्र पर्न सक्ने देखिएको छ।निगमको आन्तरिक सर्कुलर अनुसार, सगरमाथा नामक न्यारोबडी बुधबार राति दमाम उड्न तयारीमा थियो। तर ‘एंगल अफ अट्याक’ सेन्सरमा समस्या देखिएपछि काठमाडौँमै ग्राउन्ड गरिएको हो। उक्त उडानका १३३ यात्रुलाई निगमकै खर्चमा गौशाला आसपासका होटलमा राखिएको छ। उता दमामबाट नेपाल फर्किनुपर्ने ७७ यात्रु पनि साउदी अरबमै रोकिएका छन्।
यसअघि साउन २० पछि लुम्बिनी नामको अर्को न्यारोबडी विमान इजरायली भाडाको इन्जिनमा समस्या देखिएपछि व्यावसायिक उडानमा आउन सकेको छैन। दुवै १५८ सिट क्षमताका जहाज ग्राउन्ड भएपछि निगमले २७४ सिट क्षमताका वाइडबडी एयरबस प्रयोग गर्न बाध्य भएको छ। तर छोटो दूरीका गन्तव्यमा वाइडबडी उडाउनु आर्थिक दृष्टिले घाटाको सौदा हुने निगमका अधिकारीहरू बताउँछन्।निगमका एक स्टेसन प्रमुखका अनुसार, “दुवै न्यारोबडी बिग्रिएपछि हङकङ, मलेसिया, मुम्बई, बेंगलुरु, दिल्ली, दुबई, दोहा र जापानका उडानहरू प्रभावित भएका छन्। भाडाको इन्जिनको बक्यौता, अपरिपक्व सम्झौता र समयमै मर्मत नगर्दा निगम गहिरो संकटमा परेको हो।”
नेपाल नागरिक उड्डयन प्राधिकरणले मर्मतमा गम्भीर लापरबाही देखाउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकाउन्टेबल म्यानेजर पदबाट बर्खास्त गरिसकेको छ। वर्तमान अवस्थामा नेपाल वायुसेवा निगम यात्रुहरूको चाप, उडान व्यवस्थापन र वित्तीय संकटसहित बहुआयामिक समस्यामा फसेको देखिन्छ।