काठमाडौं । बीमा कम्पनीहरुले आर्जन गर्ने कुल बीमा शुल्क १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २८ वटा बीमा कम्पनीहरुले कुल दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम अघिल्लो आवको तुलनामा १४ दशमलव ७६ प्रतिशत अर्थात् २९ अर्ब २१ करोड ८५ लाख ७७ हजार रुपैयाँले बढी हो । अघिल्लो आवमा १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीले कुल एक खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख ८४ रुपैयाँ आर्जन गरेका थिए ।
गत आवको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले मात्र एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ संकलन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव ४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा उनीहरुले कुल एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
त्यसैगरी, गत वर्ष निर्जीवन बीमा कम्पनीहरुले मात्र ४४ अर्ब ९१ करोड २६ लाख सात हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । यो रकम अघिल्लो आवको तुलनामा आठ दशमलव ३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
त्यस्तै, गत आवको असार मसान्तसम्म जीवन बीमा कम्पनीमा सक्रिय जीवन बीमालेख बढ्दा निर्जीवन बीमा कम्पनीमा तुलनात्मकरुपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरुको बीमा लेख एक करोड ५६ लाख ३० हजार नौ सय ९९ वटा र निर्जीवन बीमालेखको संख्या ३२ लाख ४४ हजार तीन सय ८३ पुगेको छ ।
गत वर्षको सक्रिय बीमालेख अघिल्लो आवको सोही अवधिको तुलनामा १२ दशमलव ६० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या एक करोड ३८ लाख ८१ हजार चार सय ९२ रहेको थियो । त्यस्तै, गत आवको उक्त निर्जीवन बीमालेख अघिल्लो आवको तुलनामा ११ दशमलव ८१ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार अघिल्लो आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या २९ लाख एक हजार छ सय ४० रहेको थियो ।
गत आवको असार मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत भने म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४८ दशमलव ३३ प्रतिशत छ । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा पाँच दशमलव शून्य छ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव २७ प्रतिशत रहेको थियो ।