काठमाडौं । नेपालका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीविना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै नेताहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको भूमि लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति अस्वीकार्य रहेको बताए । उनले सम्पूर्ण राजनीतिक दलको सहमतिबाट सो सम्बन्धमा नेपाल सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिए । ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू विगतमा जस्तै एक ठाउँमा उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीका तर्फबाट सबै दललाई एकढिक्का हुन आग्रह गर्दछु, मतमतान्तर र प्रतिस्पर्धा आ–आफ्ना ठाउँमा छन्, यसलाई घरेलु राजनीतिको विषय नबनाऔँ, उग्र राष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ । हामीले यो ‘पोजिसन’ बनाउनुपर्नेछ ।’
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले नेपालको सहमतिविना छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेकको सम्बन्धमा गरेको सम्झौता नेपाली जनता, सरकार र संसद्लाई अस्वीकार्य रहेको बताए । ‘सो सम्बन्धमा सरकारको तत्कालको प्रतिक्रियाले मात्रै पुग्दैन”, उनले भने, ‘उक्त भूमि नेपालको हो, यसको रक्षार्थ सम्पूर्ण नेपालीको एक स्वर हुनुपर्छ ।’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पूर्खाले बलिदान गरेर कायम गरेको भूमि जोगाउन सिङ्गो नेपाल एक हुनुपर्नेमा जोड दिए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा सर्वपक्षीय समझदारी गरेर सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा राखे ।
‘उत्तेजनात्मक अभिव्यक्तिको तरिकाले होइन, परिपक्व कूटनीतिक प्रयास गरियोस्,’ सचिव पौडेलले भने, ‘प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा यो विषय स्पष्टसँग राखिनुपर्छ ।’ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले भारत र चीनले नेपालको सहमति नलिई लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि खोल्ने एकतर्फी सौदावाजी अस्वीकार्य भएको बताए ।
‘यो सम्झौता अन्तर्राष्ट्रिय कानुन र पञ्चशीलको सिद्धान्तविपरीत पनि छ, यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र ?’, उनको प्रश्न थियो । महाकालीपूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुरालगातका क्षेत्र नेपालको अभिन्न भू–भाग भएको उल्लेख गर्दै उनले यो सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि जोडदार आवाज र दबाब दिन आवश्यक रहेको बताए ।
जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले राष्ट्रिय मुद्दामा सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपालको सहमतिविना भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाएकी थिइन् । उनले प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका क्रममा उक्त विषयलाई स्पष्टसँग राख्नुपर्नेमा जोड दिइन् । ‘यो राष्ट्रको विषय हो, सिङ्गो संसद्मा यसबारे ध्यानाकर्षण भएको छ, सरकारले आवश्यक कूटनीतिक पहलकदमी लिनुपर्छ’, उनले भनिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटिएको नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराउँदा अहिले समस्या देखिएको बताए । उक्त भू–भाग नेपालकै भएको सप्रमाण रहेकाले यससम्बन्धमा कुनै पनि मुलुकले गर्ने सहमति, सम्झौता नेपाललाई अस्वीकार्य हुने उल्लेख गरे ।
दुई छिमेकीहरु चीन र भारतले लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति गरेपछि नेपालले बुधबार नै त्यसको विरोध गरिसकेको छ । नेपालले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो अभिन्न भू–भाग रहेकोमा दुवै छिमेकीको ध्यानाकर्षण गराएको थियो ।
सरकारले नेपालको संविधानमा नै आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा स्पष्ट रहेको जनाएको छ ।