दुई/अढाई दशकमा देशमा केही परिवर्तन भएन भनेर पछिल्ला दुई/तीन वर्षमा खासगरी राजनीतिक वृत्तमा व्यापक भाषण, अन्तर्वार्ता, लेख, सामाजिक सञ्जालमार्फत गाली गलौज देखिएका र सुनिएका छन् । केही भएन भन्ने एक किसिमको भाष्य नै निर्माण भएको छ । होला, अपेक्षा गरिएजति विकास भएन तर केही पनि भएन भन्ने भाष्यमा विल्कुल सहमत हुन सकिँदैन । सबै क्षेत्रमा निराशा मात्र छैन आशा गरेको भन्दा बढी विकास भएका पनि छन्, यद्यपि भएका विकासमा गुणस्तरको प्रश्न उठाउन सकिन्छ, तर हुँदै भएन, शून्यको अवस्थामा छौँ भन्ने पक्का पनि होइन र छैन पनि ।
यो २०/२५ वर्षको अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा संख्यात्मक तहमा धेरै नै सुधार आइसकेको देखिन्छ । काठमाडौंका चोक र गल्लीहरूमा मात्र होइन देशका धेरै ठाउँमा स्तरीय अस्पताल खुलेका छन् । अस्पताल मात्र खुलेको छैन हरेक क्षेत्रमा विशेषज्ञहरू पनि उत्तिकै मात्रामा देखिन्छन् । राम्रा अस्पताल हुनु अनि राम्रा डाक्टरको साथै छिनमै उत्कृष्ट प्रविधि तथा अत्याधुनिक मेसिनसहितको सुविधा भएको अस्पतालले बिरामीलाई उपचार नपाई दुःख पाउने अवस्थाबाट टाढा भएको छ । कतिपय जटिल रोगका लागि बिरामीहरू संघीय राजधानी काठमाडौं आउनुपर्ने होइन काठमाडौंबाट बाहिर गइरहेका र छिमेकी भारतबाट समेत नेपालका तराईका अस्पतालमा चाप बढेको सत्य हो । तर, नेपालको उपचार पद्धतिलाई विश्वास नगरेर बाहिरिने पनि छन् ।
अहिले ट्रमा सेन्टर, मुटु अस्पताल, न्युरो अस्पताल, हाड जोर्नी अस्पताल, क्यान्सर अस्पताल, आँखा अस्पताल, महिला तथा प्रसूति अस्पताल, बाल अस्पतालको साथै प्लास्टिक सर्जरी समेत गर्ने अस्पतालहरूले र विशेषज्ञहरूले गर्दा नेपालको स्वास्थ्य क्षेत्रको सुधार भएको देखिन्छ । कतिपय जटिल रोगको परीक्षण पनि नेपालमा सजिलै हुन्छ । यसले नेपालको धेरै पैसा विदेशिनबाट जोगिएको छ । आँखा र क्यान्सरजस्ता अस्पतालले त विदेशी खासगरी भारतीय रुपैयाँ पनि आम्दानी गरेको देखिन्छ । किनकि ती अस्पतालमा भारतीय बिरामीहरू पनि प्रशस्त आउने गरेका छन् । सरकारी मात्र होइन निजी क्षेत्रमा अस्पतालमा भएको उल्लेखनीय लगानीले गर्दा पक्कै पनि आशालाग्दो अवस्था देखिएको छ ।
नेपालमा पुराना अस्पतालमा वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल (शान्ता भवन), वीरेन्द्र सैनिक अस्पताल, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पताल, बलम्बुको एपीएफ अस्पताल, सहिद गंगालाल अस्पताल तथा केही दशकअघि खुलेको नागरिक अस्पतालले पनि विभिन्न रोगका बिरामीहरूलाई सेवा प्रदान गर्दै आएका छन् भने भक्तपुर अस्पताल र निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा ओम अस्पताल चावहिल, ह्याम्स अस्पताल धुम्बाराही, ग्रान्डी अस्पताल टोखा, मेडिसिटी अस्पताल नक्खु, बी एन्ड बी अस्पताल ग्वार्को, ग्रिनसिटी अस्पताल सामाखुसी, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, काठमाडौं क्यान्सर अस्पताल भक्तपुर, चिरायु नेसनल अस्पताल बसुन्धरा, अन्नपूर्ण न्यूरो अस्पताल, उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ युरोलोजिकल एन्ड एलाइट साइन्सलगायतका काठमाडौंका प्रत्येक चोक–चोकमा दर्जनौँ अस्पताल छन् । काठमाडौं मात्र नभएर देशका मुख्य सहरहरू विर्तामोड, दमक, विराटनगर, धरान, राजविराज, जनकपुर, वीरगञ्ज, भतरपुर, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज/कोहलपुर, धनगढी, सुर्खेतलगायतका सहरहरूमा प्रशस्त अस्पताल खुलेका छन् । ती अस्पतालले लाखौँ मानिसको अकाल मृत्यु रोकेको छ । बाँच्न सकियो भने मात्र धेरै देख्न पाइन्छ, यही सत्यको कारण केही भएन भन्नेमा असहमति छ । किनकि यो अढाई दशकको अवधिमा धेरैलाई बचाउने काम स्वास्थ्य क्षेत्रले गरेकै छ । तर, गुणस्तर र बढ्दो स्वास्थ्य चुनौतीको बारेमा भने बहस गर्न, प्रश्न उठाउन सकिएला तर हुँदै भएन भन्न सकिन्न ।
क्यान्सरबाहेक अन्य उपचारको लागि भने अहिले पनि पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँबाट काठमाडौंमै धाउनुपर्ने बाध्यता भने छ । तत्काल आउनलाई पनि बाटोको असुविधाले गर्दा समयमा आई नपुग्ने समस्या, सबैलाई हेलिकोप्टरको पहुँच नहुने र भाडा तिर्नै नसक्ने कारणले र आर्थिक भार पर्ने भएकाले र महँगो उपचार पद्धतिले गर्दा पनि धेरै मानिसले काठमाडौं आउन नसकी त्यत्तिकै ज्यान फाल्न परेको अवस्था छ । तर, दुर्गम गाउँबाहेक अन्यत्र औषधि नै देख्न नपाई मृत्युवरण गर्नुपर्ने अवस्थामा झण्डै ८०/९० प्रतिशतले कमी आएको छ । साथै बाटोमा हुने दुर्घटनालाई समयमा अस्पताल पुर्याउन नसकी बाटोमै ज्यान पनि गइरहेको छ । यसको लागि राजमार्गहरूमा उचित स्वास्थ्य सेवाको व्यवस्था भने छैन । पहिला जिल्ला सदरमुकाममै अस्पताल थिएन भने अहिले राजमार्गमा अस्पताल स्थापना हुनुपर्छ भनेर माग हुनु यसमा भएको विकासको फड्को नै हो । साना–ठूला चोट लाग्दा पनि धेरै मात्रामा रगत बगेर मृत्युवरण गर्न नपरोस् भन्ने आम माग छ । किनकि पछिल्लो दुई/तीन दशकमा मानिसहरूको बढी घनत्व सडकमा पनि बढेको कारण राजमार्गमा अस्पतालको माग बढेको हो ।
अर्को सत्य के हो भने नेपालमा स्वास्थ्य अवस्था गाउँ तथा सहरबीच तुलना गर्ने हो भने आकाश–पातालको फरक छ । धनी र गरिबबीचको खाडल अत्यन्त गहिरो छ । कतिपय अवस्थामा त स्वास्थ्य सुविधा पनि हुने खाने र सुगम स्थानमा बस्नेले मात्र पाउने हो कि भन्ने अवस्था छ । आज भन्नुहोस्, नेपालको स्वास्थ्य स्थिति सुध्रेकै अवस्थामा पनि सम्पन्न वर्गहरू त सिंगापुरजस्ता देशको साथै भारतमा उपचार गर्न जान्छन् र अरर्बौँ रकम बाहिरिरहेको अवस्था पनि छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सामान्य ज्वरो आउँदा वा टाउको दुखेको औषधि पनि नपाउने अवस्था पनि दुर्गम गाउँमा छ । झाडापखालाको औषधि नपाएर जाजरकोट जिल्लाका गाउँमा दर्शनौँको मृत्यु भएको पनि यहीबीचमा हो । तर, अहिले सुधार त भएको छ तर सोचेजतिको सुधार भने गरिएको/भएको छैन ।
संख्यात्मकरूपमा अस्पताल खुले पनि समानुपातिक सिद्धान्तअनुसार अस्पताल खुलाउन राज्यले सकेको छैन । अहिले पनि अस्पताल र त्यसका सुविधा सहर केन्द्रित नै छन् । तर, जनसंख्या बढी भएको ठाउँमा धेरै अस्पताल खुल्नुलाई स्वाभाविकरूपमा लिन सकिए पनि दुर्गमका नागरिकलाई पनि समान पहुँच पुग्ने वातावरण भने सरकारी र निजी दुवै क्षेत्रले गर्नैपर्छ । सुत्केरी हुन नसकेर मृत्यु हुनु, बालबालिकाले उपचार नपाएर आकालमै ज्यान जानु, समयमा उपचार नपाई अस्पताल पु¥याउन नसकी मृत्यु हुनु, सर्पदंशको समयमा उपचार नपाई मृत्यु हुनु, सेटामोल नपाई ज्वरोबाट मृत्यु हुनु तथा दीर्घ रोगको त कुरै नगरौँ, सामान्य रोग लागेर पनि मृत्युको मुखमा पुग्नु तथा पैसा नभएकै कारण अस्पताल जानबाट वञ्चित भएर आकालमै मृत्यु हुनु र दीर्घ रोग लागेमा त झन् उपचार नपाई आकस्मिक मृत्युको मुखमा पर्नु राज्य र निजी क्षेत्र दुवै समान भागिदार छन् । हुन त आज राज्य स्तरबाट पनि कतिपय रोगलाई बीमाको व्यवस्था भए पनि सबैको पहुँच छैन । त्यसैले नेपालमा स्वास्थ्य अवस्था सुधार भए पनि सबैको पहुँच नभएकाले विकास भए पनि चुनौतीहरू उत्तिकै छन् र धनी र गरिबबीचको खाडल र दूरी उत्तिकै बढेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भए पनि चुनौतीहरू अझै पनि गम्भीर छन् । काठमाडौंमै ठूला अस्पताल केन्द्रित छन् । टाढा दुर्गम स्थानका नागरिकले उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता घटेको हो, तर रोकिएको होइन र छैन । अहिले पनि दुर्गम, यातायात असुविधा र आर्थिक भारका कारण धेरै बिरामी समयमै उपचार पाउन सक्दैनन् । समयमै उपचार नपाउने समस्या सडक दुर्घटनामा परेकाहरू समयमै अस्पताल नपुगेकै कारण बाटोमै ज्यान गुमाउने अवस्था छ । राजमार्गमा आपत्कालीन स्वास्थ्य सेवा र एम्बुलेन्स प्रणाली छ तर पर्याप्त छैन । सहरमा बस्ने, सुगम क्षेत्रका नागरिकले उपचार पाउने मौका पाउँछन् तर दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत औषधि समेत पाउन मुस्किल मुस्किल नै छ ।
सम्पन्न वर्गका मानिसहरू नेपालमा उपलब्ध हुने सेवा पनि नलिई उपचारकै लागि भनेर विदेश जाँदा पैसा मात्र बाहिरिएको छैन नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास कमजोर भएको संकेत दिन्छ । आर्थिक भार र महँगो उपचारको उत्तिकै समस्या छ । नेपालमा दीर्घरोग (क्यान्सर, मुटु रोग, मृगौला रोग)को उपचार हुन्छ तर त्यो अति महँगो छ । स्वास्थ्य बीमा प्रणाली सुरु भए पनि अझै सबैसम्म पुग्न सकेको छैन । धेरै मानिसले पैसाको अभावमा उपचार गर्नै नसकी ज्यान गुमाइरहेका छन् । यसका बाबजुद, नेपालले विगतका वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बालमृत्यु दर घटेको छ । सरसफाइ, खानेपानी र पोषणमा सुधारसँगै जीवनस्तर बढेको छ । विभिन्न रोगहरू नियन्त्रणमा आएका छन् । खोप अभियान सफल भएको छ । स्वास्थ्य बीमा कार्यक्रमले केही हदसम्म आधारभूत सुरक्षाको सुनिश्चितता गरेको छ । तर, सबैको पहुँचमा पुग्न नसकेको चाहिँ हो । सुरु नै नभएको भने होइन ।
अन्त्यमा, नेपालको स्वास्थ्य क्षेत्र विगतको तुलनामा निकै अगाडि बढेको छ । तर अझै पनि ग्रामीण भेग, गरिब तथा वञ्चित वर्गसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिएको भने छैन । उपचार महँगो हुनु, काठमाडौँ केन्द्रित सेवा, स्वास्थ्य जनशक्ति अभाव, पूर्वाधार कमजोरी, एम्बुलेन्स तथा आपत्कालीन सेवा अभाव, जनचेतनाको कमी आदि कारणले धेरै मानिसले समयमै उपचार पाउन नसकेका हुन् । केही नभएको चाहिँ होइन । आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप लगानी, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको विस्तार, आपत्कालीन सेवा सुदृढीकरण, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन, औषधि सहज उपलब्धता र सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।
आम नेपाली नागरिकले सस्तो, सहज, गुणस्तरीय र छिटो उपचार पाउने अवस्था सिर्जना गर्न सकेमा मात्र नेपालको स्वास्थ्य क्षेत्र वास्तविक रूपमा सुदृढ र प्रभावकारी बनेको मानिनेछ । सहर र जनसंख्या बढी भएको क्षेत्रमा मात्र अस्पताल र स्वास्थ्य संस्थाहरू केन्द्रित हुनुलाई मात्र विकास भन्नचाहिँ सकिन्न । यो असमान विकास हो । यसमा राज्य र निजी दुवै क्षेत्र दुवै दोषी छन् नै । अस्पतालहरू सर्वसाधारणको पहुँचमा हुनैपर्छ । अनि मात्र स्वास्थ्य क्षेत्र सदृढ र प्रभावकारी छ भन्न सकिन्छ । सरकारी अस्पतालको स्तरमा सुधार आउनै पर्छ । डाक्टरहरू सरकारी अस्पताल सबैतिर देख्न पाइयोस् । अनि अस्पतालमा मेसिन बिग्रेको र बत्ती गएको वा प्राविधिक त्रुटि भएको कारण कसैले पनि ज्यान गुमाउन नपरोस् । अबको दिनमा स्वास्थ्य क्षेत्रको अझै विकास होस् । स्वास्थ्य बीमा प्रभावकारी होस् । ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा प्रदान होस् । सिटामोल नपाई वा सर्पले टोकेको विष शरीरबाट निकाल्न नपाएको जस्ता कुराले कसैको ज्यान नजाओस् ।