काठमाडौं । काठमाडौं युथ कन्क्लेभ आयोजना हुने भएको छ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा कन्क्लेभ गर्न लागिएको हो ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहेको छ । युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कुल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिए ।
विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवर्द्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ । एक्सपर्ट एजुकेसनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा रहेको उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको बुझाइ छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उनले बताए । वि.सं. २०७६ सालदेखि सुरु गरिएको कार्यक्रमको यो छैठौँ संस्करण हो । कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।