काठमाडौं । नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) बाट ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ ।
ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार सम्पन्न विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ । पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका थिए । यो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभई नेपालको समग्र आईटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको कम्पनीले जनाएको छ ।
विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गर्ने ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्वपूर्ण अवसर मानिन्छ । ‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा केन्द्रित यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको छ । ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौँ कम्पनीले मनोनयन दर्ता गराएका थिए ।