रौतहटको गरुडा नगरपालिका–शिवनगरस्थित उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको सूचना पाएपछि सशस्त्र प्रहरीले गत साउन २९ गते राति छापा मारेको थियो। तर, भिडिओसहितको सूचनामा ७०० बोराभन्दा बढी चिनी देखिएको भए पनि गौर भन्सारमा जम्मा १०६ बोरा मात्रै बुझाइएको तथ्य बाहिरिएपछि सशस्त्र प्रहरी नै विवादमा तानिएको छ।
गौर भन्सार कार्यालयमा १०६ बोरा चिनीबाहेक ९ बोरा सिमेन्ट, १० बोरा मल र केही लत्ता कपडा मात्र बुझाइएको छ। बाँकी करिब ६०० बोरा चिनी भने छापामारिएको घरमै हराएको देखिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अवैध चिनी भित्र्याउनेहरूले केही रकम दिएर ठूलो परिमाणको चिनी नबरामद गर्न लगाएको आशंका गरिएको छ।
घटनापछि प्रमुख कमान्डरका रूपमा छापा नेतृत्व गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामालाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरिएको छ। उनी करिब चार महिनाअघि मात्रै रौतहट पुगेका थिए।सशस्त्र प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, डीएसपी लामासहित छापा टोलीका १७ जनामाथि छिन्नमस्ता बाहिनी बर्दिबासमार्फत आन्तरिक छानबिन सुरु गरिएको छ। छानबिनमा परेकामध्ये एक डीएसपी, तीन इन्स्पेक्टर, दुई जना जुनियर अधिकृत र बाँकी जवान–हवल्दार रहेका छन्। आईजीपी राजु अर्यालले हालै मात्र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको भागिदार हुने चेतावनी दिएका थिए। सोही नीतिअनुसार अहिले कमान्डर लामासहित १७ जनामाथि अनुसन्धान अघि बढाइएको हो।