नक्कली शैक्षिक प्रमाणपत्र छपाई प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीले जिम्मेवारीबाट निलम्बित गरेको छ। रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले बिहीबार एक सूचना जारी गर्दै कँडेललाई हालका लागि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन्।
सूचनामा भनिएको छ, “नक्कली शैक्षिक प्रमाणपत्र छपाईमा संलग्न भई रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचना प्राप्त भएको हुँदा सो प्रकरणमा प्रहरीको छानबिन र अनुसन्धान सहज बनाउनका साथै, दोषी प्रमाणित भएमा थप कारबाहीका लागि हाल तपाईंलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँछौं।”
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको थियो। उनीमाथि त्रिभुवन विश्वविद्यालयसहितका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र छपाई र बिक्रीमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।