काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशको न्याय प्रणालीप्रति कडा आपत्ति जनाएका छन्। उनले न्यायको खोजीमा अदालत पुगेका कुनै पनि व्यक्तिले घुस, पहुँच वा राजनीतिक सम्पर्कबिना न्याय पाउन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भने, “न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन।” श्रेष्ठले अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग गरिएको दाबी पनि गरेका छन्। उनले न्यायाधीशहरू आफ्ना पदीय वा निजी स्वार्थका लागि सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गर्ने प्रवृत्ति अत्यन्तै लज्जाजनक रहेको टिप्पणी गरे। उनका अनुसार यस्तो अवस्थाले निर्दोषहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्यायबाट वञ्चित हुने अवस्था थप गहिरिँदै गएको छ। श्रेष्ठले न्याय प्रणाली सुधारका लागि तत्काल ठोस कदम चाल्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।