काठमाडौं । खराब कर्जा असुलीका लागि गैर–बैंकिङ सम्पत्ति (एनपीए) बिक्री गर्न खोजे पनि नसकेपछि सिङ्गो बैंकिङ क्षेत्र दबाबमा परेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि गैरबैंकिङ सम्पत्ति बिक्री नभएको हो ।
यसले सिंगो बैंक तथा वित्तीय संस्थाको वासलातमा असर परेको छ । नेपाल राष्ट्र« बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल गैर–बैंकिङ सम्पत्ति बढेर ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा औसत निष्क्रिय कर्जाको अनुपात पनि बढेर चार दशमलव ६२ प्रतिशत पुगेको छ । यसले पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेसँगै गैर–बैंकिङ सम्पत्ति पनि उच्चरुपमा बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा पछिल्लो अवधिमा कायम रहेको कुल गैर–बैंकिङ सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा १५ अर्ब चार करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रको औसत निष्क्रिय कर्जा तीन दशमलव ८६ प्रतिशतमा सीमित रहँदा कुल गैर–बैंकिङ सम्पत्ति पनि ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँमा सीमित रहेको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औसत शून्य दशमलव ७६ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा गैर–बैंकिङ सम्पत्ति १५ अर्ब चार करोड २० लाख रुपैयाँले बढेको छ । गत आवको पछिल्लो १२ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा मात्र औसतमा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवकोे तुलनामा १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा औसत तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय हुँदा ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा भने गत आवको पछिल्लो १२ महिनाको अवधिमा औसतमा पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय हुँदा चार अर्ब ६८ करोड ७० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा एक अर्ब ३१ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुमा औसतमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय हुँदा तीन अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवको पछिल्लो १२ महिनामा सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमा भने औषतमा ११ दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिँदा तीन अर्ब नौ करोड १० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा एक अर्ब १२ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुमा औसतमा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय हुँदा एक अर्ब ९६ करोड ४० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।