काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाउन निजी छापाखानालाई दिएर भ्रष्टाचार गरेको आरोपमा अर्याललाई विशेष अदालतले सफाइ दिएको थियो । त्यस फैसलाले प्रमाणको उचित मूल्याङ्कन गर्न नसकेको र सर्वोच्च अदालतले नै प्रतिपादन गरेको सिद्धान्तविरुद्ध रहेको भन्दै अख्तियार सर्वोच्च गएको हो ।
अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव तथा सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष रहेको बेला केन्द्रले नछापी स्टिकर छपाउन निजी छापाखानालाई दिइएको थियो । त्यसमा उनी समेत १२ जनाको मिलेमतो रहेको अख्तियारको जिकिर छ । अख्तियारले उक्त छपाइ प्रकरणमा ३८ करोड ६७ लाखभन्दा बढी घोटाला भएको दाबी गर्दै आएको छ । गत वर्ष मंसिर १३ गते विशेष अदालतले दुई जनालाई मात्र दोषी ठहर गरी अर्यालसहित बाँकीलाई सफाइ दिएको थियो ।
दोषी ठहर हुनेमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ छन् । दुवैले विशेषबाट आठ वर्ष कैद, तीन करोड ४२ लाख २२ हजार आठ सय रुपैयाँ र बिगो तथा सोही परिमाणमा जरिवाना तिर्नुपर्ने फैसला भएको थियो ।