काठमाडौं । गत आर्थिक वर्षमा नेपाली बजारमा मुल्यवृद्धि घटेको देखिएको छ । गत वर्ष असारसम्मको सबैजस्तो खाद्य वस्तु तथा सेवाहरुमा मूल्यवृद्धि घटेको देखिए पनि वास्तविक बजारमा भने वस्तु तथा सेवाको मूल्य उच्च छ ।
वास्तविक बजारमा विशेषगरी दैनिक उपभोग्य वस्तुअन्तर्गत, खाद्यान्न, तरकारी तथा फलफूल र सेवा क्षेत्रअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा अत्यधिक मूल्यवृद्धि भएको छ । यस्तोमा राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको १२ महिनामा वार्षिक औषत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) चार दशमलव छ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा पाँच दशमलव ४४ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ५७ प्रतिशत रहेको थियो । मुद्रास्फीति भनेको कुनै पनि वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । अर्थात् थोरै सामान किन्न पनि धेरै पैसा आवश्यक पर्नु हो । बजारको अवस्था अहिले यही नै छ । तर राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले भने बजारमा वस्तु तथा सेवाको महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि नौ दशमलव ३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव नौ प्रतिशत, मदिराजन्य पेय पदार्थको पाँच दशमलव ६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको चार दशमलव ७८ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ३७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेयपदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहकोे मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव १९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति चार दशमलव शून्य चार प्रतिशत रहेको थियो ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने तीन दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति चार दशमलव ६४ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति तीन दशमलव २६ प्रतिशत रहेको थियो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिमार्फत भने आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७७ प्रतिशत, तराईको चार दशमलव १४ प्रतिशत, पहाडको तीन दशमलव ८६ प्रतिशत र हिमालको चार दशमलव ८९ प्रतिशत रहेको छ । यसको अर्थ सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा देखिएको छ । २०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३२ प्रतिशत, तराईको एक दशमलव ८५ प्रतिशत, पहाडको दुई दशमलव १९ प्रतिशत र हिमालको तीन दशमलव ७५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार ग्रामीण र सहरी उपभोक्ता मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ । २०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ४० प्रतिशतले र सहरी क्षेत्रको दुई दशमलव १४ प्रतिशतले बढेको छ ।
प्रदेशगत उपभोक्ता मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशकोे वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४६ प्रतिशत, मधेश प्रदेशको चार दशमलव १४ प्रतिशत, बागमती प्रदेशको तीन दशमलव ५७ प्रतिशत, गण्डकी प्रदेशको तीन दशमलव ३२ प्रतिशत, लुम्बिनी प्रदेशको तीन दशमलव ७० प्रतिशत, कर्णाली प्रदेशको तीन दशमलव ३१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
२०८२ असार महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६७ प्रतिशत, मधेश प्रदेशको एक दशमलव ९९ प्रतिशत, बागमती प्रदेशको एक दशमलव ८१ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव ७१ प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव ७८ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव ८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको दुई दशमलव ७४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । थोक मुद्रास्फीतितर्फ भने आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत थोक मुद्रास्फीति तीन दशमलव ८४ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको थियो । २०८२ असार महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति एक दशमलव शून्य पाँच प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ४१ प्रतिशत रहेको रहेको प्रतिवेदनमा उल्लेख छ ।
भुक्तानी सन्तुलन र चालू खाता बचतमा
काठमाडौं । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चालू खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्ष चालू खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षमा एक अर्ब ६७ करोडले बचतमा रहेको चालू खाता समीक्षा वर्षमा तीन अर्ब एक करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर नौ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर पाँच अर्ब ८१ करोड रहेको थियो । यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब दुई करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ४७ करोड रहेको नेपाल राष्ट्र बैकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष तीन अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा चार अर्ब ३७ करोडले बचतमा रहेको छ ।
खुद सेवा आय झण्डै एक खर्ब घाटामा
मुलुकको खुद सेवा आय झण्डै एक खर्ब रुपैयाँ घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा वर्षमा भ्रमण आय सात दशमलव सात प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रहेको थियो । समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १८ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २३ अर्ब ७२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय एक खर्ब ३८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब २५ अर्ब १३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
झण्डै २७ खर्ब रुपैयाँ विदेशी मुद्र्रा सञ्चिति
पछिल्लो समय नेपालमा विदेशी मुद्र्राको सञ्चिति बढेको छ । देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७ दशमलव सात प्रतिशतले बढेर १९ अर्ब ५० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३० दशमलव छ प्रतिशतले बढेर २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६ दशमलव छ प्रतिशतले बढेर दुई खर्ब ६३ अर्ब चार करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव एक प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ महिना चार दिनका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
गत वर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स
काठमाडौं । नेपालले पछिल्लो एक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो । अघिल्लो वर्ष रेमिट्यान्स १६ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार महिनाको मात्र रेमिट्यान्स एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव तीन प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या पाँच लाख पाँच हजार नौ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ३३ हजार तीन सय नौ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः चार लाख ६० हजार एक सय दुई र दुई लाख ८१ हजार एक सय ९५ रहेको राष्ट्र बैंकको भनाइ छ ।