नयाँदिल्ली । रिलायन्स कम्युनिकेसन्स लिमिटेड र उद्योगपति अनिल अम्बानीविरुद्ध सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले हालै गरेको कारबाहीले यसको व्यापार सञ्चालन, वित्तीय प्रदर्शन वा हिस्सेदारहरूमा कुनै असर नपरेको रिलायन्स पावर लिमिटेडले आइतबार प्रस्ट पारेको छ ।
नेसनल स्टक एक्सचेन्ज (एनएसई)मा सार्वजनिक गरिएको फाइलिङमा कम्पनीले भनेको छ, ‘रिलायन्स पावर लिमिटेड मिडिया रिपोर्टहरूमा प्रस्ट पार्न चाहन्छ कि रिलायन्स कम्युनिकेसन्स लिमिटेड र अनिल अम्बानीविरुद्ध सीबीआईले हालै गरेको कारबाहीले व्यापार सञ्चालन, वित्तीय प्रदर्शन, सेयरधनी, कर्मचारी वा अन्य कुनै पनि स्टेकहोल्डरहरूमा कुनै असर पारेको छैन ।’
सार्वजनिक डोमेनमा उपलब्ध विवरण र रेकर्डहरूले स्टेट बैंक अफ इन्डिया (एसबीआई)द्वारा दायर गरिएको उजुरी एक दशक पुरानो मामिलासँग सम्बन्धित रहेको देखाउँछ । त्यतिबेला अम्बानी रिलायन्स कम्युनिकेसनमा गैरकार्यकारी निर्देशकको रूपमा मात्र संलग्न थिए । दैनिक व्यवस्थापनमा उहाँको कुनै भूमिका थिएन । उनले सन् २०१९मा अर्थात् छ वर्षअघि कम्पनीको बोर्डबाट राजीनामा दिएका थिए ।
रिलायन्स कम्युनिकेसन हाल एसबिआईको नेतृत्वमा रहेको ऋणदाताहरूको समितिको व्यवस्थापनमा रहेको र समाधान व्यवसायीद्वारा निरीक्षण भइरहेको कम्पनीले उल्लेख गरेको छ । यो मुद्दा विचाराधीन अवस्थामा रहेको र राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) तथा सर्वोच्च अदालतसहितका अन्य न्यायिक फोरमहरूले विगत छ वर्षदेखि यसलाई विचाराधीन राखेका छन् ।
रिलायन्स पावरले आफू स्वतन्त्र रूपमा सूचीबद्ध कम्पनी भएको र यसको रिलायन्स कम्युनिकेसनसँग कुनै व्यापारिक वा वित्तीय सम्बन्ध नरहेको स्पष्ट पारेको छ । साथै अनिल अम्बानी साढे तीन वर्षभन्दा बढी समयदेखि रिलायन्स पावरको बोर्डमा नरहेको जानकारी दिइएको छ । त्यसैले रिलायन्स कम्युनिकेसनसँग सम्बन्धित कुनै पनि घटनाले रिलायन्स पावरको शासन, व्यवस्थापन वा सञ्चालनमा कुनै प्रभाव नपार्ने कम्पनीले जोड दिएको छ ।
कम्पनीले आफ्नो व्यापार योजनाहरूलाई कार्यान्वयनमा लैजानमा ध्यान केन्द्रित गरिरहेको र सबै हिस्सेदारहरूलाई मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । स्टेट बैंक अफ इन्डियाले दायर गरेको उजुरी १० वर्ष पुरानो मामिलासँग सम्बन्धित रहेको र यसबारे बैंकको दाबीलाई सक्षम न्यायिक फोरममा चुनौती दिइएको अनिल अम्बानीका प्रवक्ताले बताएका छन् । रासस/एएनआई