काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ)को बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीले यही साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको आइतबार बाँडफाँट कार्य सम्पन्न भएको हो ।
कम्पनीको साधारण सेयर एक लाख २४ हजार आठ सय ८६ जनाले १०/१० कित्ताका दरले पाएका छन् भने चार जनाले ११/११ कित्ताका दरले पाएका छन् । कम्पनीले आफ्नो जारी पुँजीको ४८ दशमलव ९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोही आधारमा कम्पनीले पहिलो चरणमा तीन लाख ८५ हजार आठ सय २४ कित्ता आयोजना प्रभावित र एक लाख ५० हजार चार सय ७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ७५ हजार दुई सय ६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार नौ सय चार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल र मेरो सेयर एकाउन्टबाट साधारण सेयरको नतिजा हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।