लिस्बन (पोर्चुगल) । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।
सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गर्दै निर्देशक घिसिङले नेपालमा सही व्यक्ति सही ठाउँमा नहुँदा समस्या देखिएको बताए । उनले भने, “नेपालमा केही भएको छैन भन्ने होइन, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा परिवर्तन भएको छ ।”
पूर्व कार्यकारी निर्देशक घिसिङले राम्रो गरौँ भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गरे । उनले यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पुर्याएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताए । गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिए ।
कार्यक्रम अवसरमा घिसिङलाई नागरिक अभिनन्दन गरी महासङ्घका अध्यक्ष चोपकुमार रानामगर, महासङ्घका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासङ्घका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जनलगायतले आ–आफ्नो धारणा राखेका थिए ।