काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना सार्वजनिक गरेको छ। सभामुख देवराज घिमिरेले तोकेको मिति अनुसार आगामी भदौ ११ गते (बुधबार) सभापति चयन हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि समितिको सभापति पद रिक्त भएको हो। प्रतिनिधि सभा नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार सचिवालयले भदौ ११ मा निर्वाचन गर्ने तयारी गरेको हो। दलीय सहमतिअनुसार राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेकाले अन्य दलले सभापतिको दाबी गरेका छैनन्। यसबीच कांग्रेसभित्र उम्मेदवार टुंगो लगाउन तीव्र गृहकार्य भइरहेको छ। सभापति बन्ने संभावित नाममा दिलेन्द्र बडू, अम्बिका बस्नेतलगायतका सांसदको नाम प्रमुख रुपमा चर्चामा छन्। भदौ ११ गतेको निर्वाचनमा कांग्रेसले उम्मेदवार टुंगो लगाएपछि नयाँ सभापति चयन हुने पक्का भएको सचिवालयले जनाएको छ।