काठमाडौँ महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरूले सोमबार विरोध प्रदर्शन गरेका छन्। भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म निकालिएको र्‍यालीमा व्यवसायीहरूले महानगरको तोडफोड, जबर्जस्ती र नियन्त्रणकारी गतिविधि विरुद्ध आवाज उठाएका थिए। व्यवसायीहरूले सर्वोच्च अदालतको आदेश विपरीत महानगरले कबाड व्यवसायमाथि दमनात्मक ढंगले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनीहरूको अनुसार लाखौं नागरिकको जीविकासँग जोडिएको यस व्यवसायलाई व्यवस्थापन र संरक्षण गर्नुको सट्टा महानगरले अनावश्यक दबाब र हिंसात्मक कदम उठाएको छ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले व्यवसायीहरूका हजारौं परिवारको रोजीरोटी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा महानगरले उल्टै तोडफोड, कुटपिट जस्ता गतिविधि गरेर जनताको हक अधिकारमाथि धक्का दिएको बताए। यसअघि पनि कबाड व्यवसायीहरू महानगरको अभियानविरुद्ध विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। यो प्रदर्शनले काठमाडौंमा व्यवसायी र महानगरबीचको तनाब अझ बढेको संकेत गर्दछ।