काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी थिइन । भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छिन् ।
उपराष्ट्रपति सुआनले भ्रमणका दौराने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी छिन । साथै उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन । थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उनीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन ।
नेपाल र भियतना दुवै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक–सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । दुवै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको सङ्ख्या २३ लाख ९३ हजार ५४९ छ । जुन कूल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो । त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्याङ्कअनुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको उल्लेख छ । झण्डै १० करोड जनसङ्ख्या भएको भियतनामको कूल जनसङ्ख्याको यो लगभग १३ दशमलव तीन प्रतिशत हो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने सम्भावना रहेको बताएका थिए । साथै उनले विशेषतः बौद्ध धर्म दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुका रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको उल्लेख गरेका थिए ।
त्यस्तै,उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएका छन् ।
उपराष्ट्रपति यादव र उनीबीच भएको द्विपक्षीय भेटवार्तामा उनीहरुबीच दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो ।
दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति हुनुका साथै दुवै मुलुकबीच धार्मिक सांस्कृतिक पर्यटनको प्रचुर सम्भावनाका ढोका खोल्नेबारेमा छलफल भएको थियो । त्यसका लागि दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको थियो ।
भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन शनिबार नेपाल आएकी हुन ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति सुआनबीचको भेटवार्तामा उनीहरुबीच दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन अनुभव आदानप्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो । भेटमा दुई देशबीच सरकार–सरकार, व्यवसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रका सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।
यसैगरी, उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरी दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्धधर्म दुवै देश र जनताको सम्बन्ध विस्तारको एक सबल कडी रहेकामा जोड दिएकी थिइन। उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताएकी थिइन ।
मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी थिइन ।
त्यसैगरी उपराष्ट्रपति सुुआनसँग नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको थियो । भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीहरुले उहाँसँग भेटगरी द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरेका थिए ।
चेम्बर अफ कमर्शले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।
उपराष्ट्रपति सुआनले भ्रमणको अन्तिम दिन सोमबार विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर र बौद्धनाथ क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन । सांस्कृतिक सम्पदाको धरोहर पाटन दरबार स्क्वायर र बौद्धधर्मको ऐतिहासिक महत्वको सम्पदा बौद्धनाथको अवलोकनले पनि यस भ्रमणले विशेष महत्व राखेको छ ।
रासस