काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिकरुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सवलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तत्र्रिmयामा उनले सङ्घीयतालाई जनभावनाअनुरुप प्रभावकारी बनाउनुपर्ने बताए । जति अप्ठ्यारो भए पनि संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
‘उत्तेजना बढाउनेले जे बोले पनि हुन्छ तर हामीमा जिम्मेवारी छ, संविधान संशोधन गर्ने कुरा पनि समयअनुसार परिमार्जन गर्दै जानुपर्छ,’ उनले भने । जनआन्दोलनको समयमा नयाँ राजनीतिक प्रणालीको स्थापना गर्ने र संविधान बदल्ने राजनीतिक दलहरुको प्रतिबद्धता रहेको समेत उनले स्मरण गरे । ‘सङ्घीयता नहुँदा र अहिलेको खर्चमा त्यति धेरै अन्तर छैन, प्रदेशले कुनै नयाँ संरचना खडा गरेको छैन, यसका लागि प्रमाणमा आधारित छलफल गर्नुपर्छ, प्रणाली महँगोभन्दा पनि हामीले पो महँगो हुने बनाएका छौँ कि’, उनले भने ।
सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, धर्म निरपेक्षता र मौलिक अधिकार वर्तमान संविधानको मुख्य अन्तरवस्तु भएकाले संशोधनको विषय उठ्दा यी विषयवस्तुलाई झनै सबल बनाउनुपर्ने बताए ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनालीले सङ्घीयतामा स्थानीय सरकार, प्रदेश र सङ्घको प्रशासनिक संरचनाको व्यवस्थापन, जनताको सेवामा स्थानीय सरकारको भूमिकाका बारेमा प्रस्तुतीकरण दिएका थिए ।