धादिङ, धादिङको ज्वालामूखी गाउँपालिका–६ देउरालीमा मदन आश्रित स्मृति भवन निर्माणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा विनियोजित ३० लाख रुपैयाँको बजेटमा अनियमितता भएको खुलासा भएको छ।सहरी विकास तथा भवन कार्यलय नुवाकोटअन्तर्गत उपभोक्ता समितिमार्फत बनेको भवनमा ज्वालामूखी एमाले नेतृत्वले मनोमानी ढंगले रकम वितरण गरेको भेटिएको हो। भवन निर्माण सम्पन्न भए पनि जग्गा बिक्रेतासहित कामदारहरूले पाउनुपर्ने भुक्तानी अझै रोकिएको छ।
भवनका लागि ५ लाख रुपैयाँमा खरिद गरिएको धनबहादुर शाक्यको जग्गाको रकम अझै नबुझाइएको पाइएको छ। त्यस्तै, भवन निर्माणमा संलग्न ठेकेदार र कामदारहरूले पनि आफ्नो परिश्रमको पैसा नपाएको गुनासो गरेका छन्। यद्यपि, एमाले गाउँ कमिटीका नेतृत्वले रकम भुक्तानीमा गल्ती भएको स्वीकार गर्दै छिट्टै हरहिसाब मिलाउने तयारी गरिरहेको जनाएको छ। मदन आश्रित भवन निर्माणमा देखिएको अनियमितताले अब स्थानीय तह र प्रदेश सरकार दुवैको निगरानी बढाएको छ।