काठमाडौं । नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बोकेर नेपाल आउँदा भन्सार स्वघोषणा गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार नगद विदेशी मुद्रा नेपालमा ल्याउने र नेपालबाट बाहिर लैजाने विषयमा सार्वजनिक सूचना जारी गर्दैै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यो व्यवस्थाअनुसार नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा साथमा बोकेर नेपाल आउँदा भन्सार घोषणा गर्नुपर्देन । पाँच हजार डलरसम्मको मुद्रा भन्सार घोषणाविना नेपाल भित्र्याउन सकिन्छ भने सोभन्दा बढीको नगद भित्र्याउनु परेमा अनिवार्यरुपमा भन्सार घोषणा गर्नुपर्नेछ ।
राष्ट्र बैँकले सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनमा रहेका पाँच सय र एक हजार दरका भारतीय नोटका साथै दुई सय, पाँच सय र दुई हजार दरको हालका नोट कारोबार र ओसार–पसार पूर्णरुपमा निषेध गरेको जानकारी पनि दिएको छ । यसबाहेक राष्ट्र बैंकले यसअघि नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्थालाई पुनः स्मरण गराएको छ ।