काठमाडौं । साढे ५४ अर्ब बढी रुपैयाँबराबरको प्राथमिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डले ७६ वटा कम्पनीहरुको उक्त आईपीओ पाइपलाइनमा रहेको मंगलबार जानकारी दिएको हो ।
एउटा विकास बैंक, चार होटल, ३७ वटा हाइड्रोपावर, चार लगानी कम्पनी, १७ वटा उत्पादनमूलक कम्पनी, तीनवटा माइक्रो इन्स्योरेन्स र १० अन्य विभिन्न कम्पनीहरुले आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेका हुन् । यसअनुसार सालपा विकास बैंक लिमिटेडले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १७ लाख २३ हजार आठ सय ८० कित्ता आईपीओ जारी गर्न स्वीकृति मागेको छ ।
त्यसैगरी, होटल तथा पर्यटनबाट भने चार कम्पनीले अनुमति मागेका छन् । बोर्डले अनुमति दिए यो समूहबाट कुल एक अर्ब ४२ करोड १० लाख रुपैयाँबराबरको एक करोड ४२ लाख १० हजार कित्ता निष्काशन हुनेछ । उक्त कम्पनीहरुमध्ये होटल फरेस्ट इनको ४० करोडबराबरको ४० लाख कित्ता, अकामा होटलको साढे २२ करोडको २२ लाख ५० हजार कित्ता, वर्णवास म्युजियम होटलको ३९ करोड ६० लाखबराबरको ३९ लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरी लिमिटेडको ४० करोडबराबरको ४० लाख कित्ता आईपीओ पाइपलाइनमा छ ।
यसबाहेक जलविद्युत् समूहबाट ३७ वटा कम्पनीले १८ अर्ब २६ करोड एक लाख ४० हजार २ सय ३६ रुपैयाँबराबरको १७ करोड ८५ लाख २८ हजार सात सय ५४ कित्ता आईपीओ निष्काशन गर्न चाहेका छन् । भुजुङ हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोलालगायत कम्पनीहरुले आईपीओ जारी गर्न चाहेका छन् । त्यस्तै, लगानी समूहबाट तीन अर्ब १४ करोड १० लाख ३७ हजार पाँच सय रुपैयाँबराबरको एक करोड ८६ लाख ५० हजार तीन सय ७५ कित्ता आईपीओ पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिङ्ग्स र शिवशंकर हाइड्रो इन्भेस्टमेन्टले उक्त परिमाणको आईपीओ निष्काशन गर्न खोजेका छन् ।
त्यसैगरी, उत्पादनमूलक समूहका १७ कम्पनीले पनि २७ अर्ब ५६ करोड ८१ लाख ७१ हजार पाँच सय २५ रुपैयाँबराबरको १३ करोड २२ लाख २४ हजार आठ सय २० कित्ता आईपीओ जारी गर्न अनुमति मागेका छन् । यता माइक्रो इन्स्योरेन्स समूहमा तीन कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँबराबरको ५७ लाख ५० हजार कित्ता निष्काशनको लागि अनुमति मागेको बोर्डले जनाएको छ । त्यस्तै, अन्य समूहबाट विभिन्न १० कम्पनीले पनि आईपीओ स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका छन् । १० कम्पनीले तीन अर्ब ४३ करोड ८७ लाख पाँच हजार चार सय रुपैयाँबराबरको दुई करोड ७६ लाख ६५ हजार ५४ कित्ता आईपीओका लागि अनुमति मागेका छन् ।