काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्साहन र अनुदानवापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले मंगलबार उखु किसानको लागि ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम निकासा गर्न अर्थ मन्त्रालयले प्राविधिक कारण जनाउँदै ढिलाइ गरेको थियो । यसअघि सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो ।
सरकारले अनुदान कटौती गरेपछि उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । कृषि मन्त्रालयले उखु किसानलाई ७० रुपैयाँ नै अनुदान रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । तर मन्त्रिपरिषद्ले मुलुकको आर्थिक अवस्था र आवश्यकताका आधारमा भन्दै आधा रकम कटौती गरी ३५ रुपैयाँ मात्रै उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उखु किसानहरुले आइतबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।