नेपाल विविधता, संस्कृतिको धनी र परम्परामा डुबेको देश हो । यहाँका नागरिकले वर्षभरि नै विभिन्न चाडपर्व मनाउने गर्दछन् । जसमा दशैँ, तिहार, छठ, माघी, होली, तीज, ल्होसार, उँधौली–उँभौलीदेखि गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा, जनैपूर्णिमा, शिवरात्री, बुद्धजयन्तीसम्मका पर्वहरूले नेपाली समाजलाई एक–अर्कासँग बाँध्ने कडीको काम गरेको छ । यसर्थ चाडपर्व भनेको केवल धार्मिक वा सांस्कृतिक महत्व मात्र नभई सामाजिक र आर्थिक प्रभाव पनि बोकेको हुन्छ । फलतः देशको आर्थिक स्थिति कृषिमा आधारित भए पनि पछिल्लो दशकमा सेवा, व्यापार, वैदेशिक रोजगार र पर्यटनजस्ता क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । तर, चाडपर्व आउँदा देशको आर्थिक चक्र, बजारको चलायमान अवस्था, आम नागरिकको खर्च गर्ने क्षमता, उत्पादन र खपतमा देखिने असन्तुलन, विदेशी मुद्राको भित्रिने र बाहिरिने प्रक्रिया उल्लेखनीय ढंगले प्रभावित हुन्छ । यस अर्थमा भन्ने नै हो भने हामी राष्ट्रका चाडपर्वहरूको छेको र त्यसले ल्याउने आर्थिक गतिविधिहरू, त्यसले जनमानस र बजारमा पार्ने प्रभाव, सकारात्मक र नकारात्मक असर र दीर्घकालीन आर्थिक दृष्टिकोणका विषयमा विस्तृत विश्लेषण गर्ने जमर्को गरिएको छ ।
नेपालमा चाडपर्वहरूको सांस्कृतिक महत्वसँगै आर्थिक क्षेत्रमा पनि ठूलो प्रभाव छ । यहाँ विभिन्न चाडपर्वहरूले समाजका सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र धार्मिक भावना अभिवृद्धि गर्दा आर्थिक गतिविधिहरूले ठूलो योगदान पुर्याउँछन् । वस्तुतः देशको आर्थिक वृद्धिदर २०२५मा करिब ४.४ प्रतिशत रहने अनुमान छ, मुद्रास्फीति दर पनि करिब ५.२ प्रतिशत केन्द्रित गरिएको छ । यो मुद्रास्फीति चाडपर्वहरूको समयमा भएको व्यय र बजारमा माग वृद्धिका कारण पनि केही हदसम्म बढ्न सक्छ । मुख्यतः दशैँ र तिहार समयमा नेपालीहरूको वार्षिक आयको ७५ प्रतिशत र कुल उपभोगको २० प्रतिशत खर्च हुनेगरेको हुन्छ भने, यस आर्थिक क्रियाकलापले देशको व्यापार र सर्वसाधारणको जीविकोपार्जनमा ठूलो प्रभाव पर्छ । जब कि चाडपर्वका समयमा खाद्य वस्तु, तरकारी, मासुजन्य पदार्थ, कपडा, इलेक्ट्रोनिक्स, रङ्गरोगन, फर्निचर, पेय पदार्थ आदि वस्तुको बिक्रीमा उल्लेखनीय वृद्धि हुन्छ । यसले किसानदेखि व्यवसायी र व्यापारीसम्म सम्पूर्ण आर्थिक शृंखलालाई चलायमान बनाउँछ । विशेषगरी चाडपर्वमा किसानको उत्पादन व्यापारिक बिचौलियाहरूमार्फत बजार पुग्दा किसानले अपेक्षित मूल्य पाउन नपाउने समस्या पनि रहे पनि, कृषिजन्य व्यापारको आयस्तर बढ्ने गर्दछ । वस्तुतः चाडपर्वको समयमा श्रमदाताले कामदारलाई बोनस, अतिरिक्त सुविधा र खर्च रकम दिने हुँदा नोकरशाहीदेखि निजी क्षेत्रसम्म रोजगारी र आर्थिक आयमा वृद्धिदेखि हुन्छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले घर पठाउने विप्रेषण रकम पनि चाडपर्वको समयमा बढी हुने भएकाले यो रकमले स्थानीय बजारमा मुद्रा प्रवाह बढाउँछ । यसैगरी चाडपर्वको समयमा यातायात सेवाहरूलाई पनि बढी माग हुने हुँदा यातायात व्यवसायीका लागि यो अवधिलाई सुनौलो समय मानिन्छ । जुन पर्यटन, चलचित्र व्यवसाय, विज्ञापन बजार, तथा उद्योग–उद्योगीहरू पनि चाडपर्वको समयमा गतिविधि सक्रिय पार्न विशेष योजना बनाउने गर्दछन्, जसले समग्र अर्थतन्त्रको गति बढाउँछ । राष्ट्रको आयातमुखी अर्थतन्त्रमा चाडपर्वले अस्थायी रूपमा आर्थिक गतिविधि सुदृढ पार्दा पनि उत्पादन र निर्यातमा अझै सुधार आवश्यक छ । यस अवधिमा सरकारका लागि पनि कर संकलनमा वृद्धि हुने हुँदा राष्ट्रिय आर्थिक ढुकुटीमा सकारात्मक प्रभाव पार्ने गर्छ ।
हाम्रोमा चाडपर्वको मौसम आउनु आर्थिक गतिविधि र सामाजिक सौहार्दका लागि महत्वपूर्ण मानिन्छ । जुन दशैँ, तिहार, छठजस्ता प्रमुख चाडपर्वहरूले बजारमा चहलपहल बढाउँछन्, उपभोक्ताहरूको क्रयशक्तिमा वृद्धि हुन्छ र व्यापारिक लेनदेनमा गतिशीलता आउँछ । यद्यपि, यो उत्साहसँगै हरेक वर्ष चाडपर्वको छेकोमा मूल्यवृद्धि हुनेगरेको समस्या पनि दोहोरिरहन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक तथ्यांकअनुसार, मूल्यवृद्धिको दर हरेक प्रदेशमा फरक–फरक हुने गरेको छ । यसका पछाडि हरेक प्रदेशको भौगोलिक अवस्था, आर्थिक गतिविधि, कृषि उत्पादनको स्तर र बजार पहुँचजस्ता कारक तत्वहरूले भूमिका खेलेका हुन्छन् । त्यसरी नै अवलोकन गर्ने हो भने कोशी प्रदेशमा मूल्यवृद्धिको दर राष्ट्रिय औसतभन्दा सामान्यतया कम देखिएको छ । यसको मुख्य कारण कृषि उत्पादनमा आत्मनिर्भर हुनु र भारतसँगको सिमानामा सहज व्यापारिक सम्बन्ध हुनु हो । तरकारी र खाद्यान्नको मूल्य अन्य प्रदेशको तुलनामा यहाँ स्थिर रहने गरेको पाइन्छ । त्यसरी नै मधेश प्रदेशमा मूल्यवृद्धिको दर उच्च रहने गरेको छ । यसको मुख्य कारण भारतीय बजारमा देखिएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव र यस क्षेत्रको आयात–निर्भरता हो । साथै, चाडपर्वमा यो क्षेत्रमा खपत अत्यधिक हुने तर त्यसको व्यवस्थापन कमजोर हुँदा पनि मूल्य बढ्छ । त्यस्तै, बागमती प्रदेशमा जुन देशको राजधानी काठमाडौँ उपत्यका यही प्रदेशमा पर्ने हुँदा मूल्यवृद्धिको चाप सबैभन्दा धेरै यहीँ देखिन्छ । उपभोग्य वस्तुको माग अत्यधिक हुने तर उत्पादन न्यून र आयातमा पूर्ण निर्भरताका कारण यहाँ हरेक चाडपर्वमा मूल्यवृद्धि हुन्छ । यसैबेला सवारी साधन, घरभाडा र खाद्यान्नको मूल्यले यहाँको मूल्यवृद्धि दरलाई बढाएको देखिन्छ । त्यसरी, गण्डकी प्रदेशमा मूल्यवृद्धि दर मध्यमस्तरको छ । यसको कारण पर्यटन क्षेत्रको आम्दानी र कृषिको मिश्रित अर्थव्यवस्था हो । यसमा चाडपर्वमा पर्यटकको आवागमन बढ्दा सेवा क्षेत्रको मूल्यवृद्धि हुन्छ भने खाद्यान्नको मूल्य सामान्यतया स्थिर रहन्छ । त्यस्तै, लुम्बिनी प्रदेशमा पनि मूल्यवृद्धि दर मध्यमदेखि उच्चस्तरको छ । भारतसँगको सिमानामा रहेको यस प्रदेशले भारतबाट हुने आयात र त्यहाँको बजार मूल्यबाट प्रत्यक्ष प्रभाव पर्छ । यहाँ चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा र यातायातको मूल्य बढ्ने गरेको तथ्यांकले देखाउँछ । त्यसरी, कर्णाली प्रदेशमा भौगोलिक विकटता र यातायातको असहज पहुँचका कारण कर्णाली प्रदेशमा मूल्यवृद्धि दर उच्च रहन्छ । चाडपर्वमा यहाँ उपभोग्य वस्तुको माग पूरा गर्नका लागि बाहिरबाट सामान ढुवानी गर्नुपर्ने हुँदा ढुवानी खर्चले मूल्यमा ठूलो प्रभाव पार्छ । र सुदूरपश्चिम प्रदेशमा पनि कर्णाली प्रदेशकै जस्तै समस्या देखिन्छ । जहाँ चाडपर्वमा खाद्यान्न र उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि हुन्छ । भौगोलिक विकटता र उत्पादनमा आत्मनिर्भर नहुनु यहाँको मुख्य समस्या पनि हो ।
राष्ट्रमा चाडपर्वको छेकोमा हुने मूल्यवृद्धि एक जटिल र बहुआयामिक समस्या हो । यो समस्याको जड माग र आपूर्तिबीचको असन्तुलन, कमजोर बजार व्यवस्थापन र आयातमाथिको अत्यधिक निर्भरता हो । यसमा पनि प्रदेशगत रूपमा हेर्दा, भौगोलिक विकटता र बजार पहुँच कम भएका प्रदेशहरूमा यसको प्रभाव बढी रहेको देखिन्छ । अन्त्यमा, चाडपर्व नेपाली समाजको अभिन्न अंग हो र यसले आर्थिक गतिविधिलाई बढावा दिन्छ । तर, यही समयमा हुने मूल्यवृद्धिले आम नागरिकको जीवनयापनमा नकारात्मक प्रभाव पारेको छ । यसलाई न्यूनीकरण गर्न सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको सामूहिक प्रयास आवश्यक छ । सरकारले बजार अनुगमनलाई कडा बनाउने, आपूर्ति श्रृंखलालाई सहज पार्ने र दीर्घकालीन रूपमा उत्पादन वृद्धिमा जोड दिने हो भने चाडपर्वमा हुने मूल्यवृद्धिको समस्यालाई समाधान गर्न सकिन्छ । त्यसपछि मात्र, चाडपर्वको खुसी आम नागरिकको क्रयशक्तिले धान्न सक्नेछ ।
सारांशमा भन्नुपर्दा नेपालमा चाडपर्वले सांस्कृतिक मनोवैज्ञानिक पक्षसँगै देशको आर्थिक गतिविधिमा ठूलो गति र सञ्जीवनी प्रदान गरेको छ । नेपालीहरूको वार्षिक उपभोग र व्यापारको ठूलो हिस्सा यी पर्वहरूको समयमा केन्द्रित हुने हुँदा आर्थिक वृद्धिमा योगदानलगायत सामाजिक एकतामा पनि यसले महत्व राख्दछ । तर यो सबै प्रभावमा बजार व्यवस्थापन, मूल्य नियन्त्रण, किसान र उपभोक्ताबीच सन्तुलन बनाउन सरकारले थप प्रयास गर्न जरुरी देखिन्छ । मूलतः देशका चाडपर्वहरू सामाजिक र सांस्कृतिक पक्षका साथै आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण छन् । यिनले उपभोग, व्यापार र रोजगारीका अवसरहरू सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउँछन् । तथापि, चाडपर्वको आर्थिक पक्षलाई थप दिगो बनाउनका लागि आयातित वस्तुको सट्टा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । यसले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ । तथापि, मुलुकका चाडपर्व केवल सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् । अतः देशमा आउने महान पर्वका बेला बजारमा देखिने चहलपहल, रेमिट्यान्सको आगमन, उपभोग्य वस्तुको खपत, बोनस वितरण, उद्योग–व्यवसायको सक्रियता, राजस्व वृद्धि यी सबैले नेपाललाई अस्थायीरूपमा आर्थिकरूपमा बलियो बनाउँछन् । तर, महँगी, ऋणभार, असमानता, खपतमुखी प्रवृत्ति, श्रमको अभाव जस्ता नकारात्मक प्रभावलाई बेवास्ता गर्न सकिँदैन ।