काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० नयाँ–बानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभा मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।
पक्राउ परेकामध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट १७ लाख एक हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।