ललितपुर ,ललितपुरको चर्चित मितेरी सहकारी ठगी प्रकरणमा संलग्न रहेका दुई अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।जिल्ला अदालत ललितपुरका प्रवक्ता टीकाध्वज कार्कीका अनुसार, जिल्ला न्यायाधीश निर्मला योङयाको इजलासले सोमबार आदेश दिए पनि धरौटी नबुझाएकाले सुरेश अधिकारी थुनामै रहेका थिए। उनले बिहीबार धरौटी बुझाएपछि मात्र रिहा भएका हुन्। यस प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० ले हालसम्म तीन जनालाई मात्र पक्राउ गरेको छ। उनीहरूविरुद्ध ठगी, लिखत कीर्ते, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतका कसुर र संगठित अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ।अनुसन्धानअनुसार, यस ठगीमा मुख्य भूमिका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको रहेको देखिन्छ। कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ हाल फरार छन्। भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको हो। ज्योति गुरुङले सहकारीको रकम अपचलन गरी भण्डारीलाई कम्बोडियामा पठाउने र भण्डारीले त्यहीँबाट ठगी सञ्चालन गर्ने गरेको खुलेको छ। फरार रहेका अन्य प्रतिवादीमा ज्योति गुरुङ, कुम्भराज गुरुङ ९८१, स्याङ्जा०, विजयकुमार राई ९४९, खोटाङ०, प्रदीप उर्फ प्रितम अधिकारी ९३५, बाग्लुङ० र अर्जुन अराम ९३३, सिन्धुपाल्चोक० रहेका छन्। अनुसन्धानले उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको र कम्बोडियाबाट ३३ करोड ११ लाख रुपैयाँ पार्सल पठाएको दाबी गरेको छ। उक्त रकम निकाल्ने नाममा मात्रै ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी ठगी गरिएको अभियोग छ। यसरी, कुल ठगी रकम करिब १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ।यसबाहेक, सुवास खत्री र अर्जुन अरामलाई ६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी हुण्डी कारोबारमा समेत संलग्न रहेको अभियोग छ। खत्रीलाई क्रिप्टो कारोबारमा करिब ३ लाख रुपैयाँ लगानी गरेको आरोपमा पनि प्रतिवादी बनाइएको छ। अदालतले सबै प्रतिवादीमाथि अलग(अलग बिगो कायम गरेर मुद्दा अगाडि बढाइरहेको छ।