काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितोमा कर्जा लगानी बढाएको देखिएको छ । बजार पूर्णरुपमा चलायमान नभएकाले अन्य क्षेत्रमा कर्जाको माग नभएपछि सेयरबजारमा आएको तीव्र उतारचढावका बीचमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले आव २०८१/८२ सेयर धितो अर्थात् मार्जिन लोन शीर्षकमा कर्जा बढाएका हुन् ।
गत आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ७३ खर्ब तीन अर्ब ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कुल एक खर्ब ४० अर्ब ७० करोड २० लाख रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा ५० अर्ब ६० करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ९० अर्ब नौ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरुले मात्र गत आवमा ६५ खर्ब ४१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक खर्ब १६ अर्ब ८० करोड ९० लाख रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६ अर्ब ४६ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरुले भने गत आवमा कुल छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा तीन अर्ब ९४ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा विकास बैंकहरुले कुल छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
फाइनान्स कम्पनीहरुले भने गत आवमा एक खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल चार अर्ब ३५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा १९ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र प्रवाह गरेको कुल कर्जा रकम चार अर्ब १५ करोड ५० लाख रुपैयाँ रहेको थियो ।