काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार पाँच सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसमध्ये एक लाख ६३ हजार एक सय २५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीयलाई निष्कासन तथा बिक्रीवितरण हुनेछ । यसैगरी तीन लाख नौ हजार नौ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई बिक्री हुनेछ । प्रभावित स्थानीयले छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज नौ गतेसम्म आवेदन दिन सक्नेछन् । यसैगरी वैदेशिक रोजगारमा रहेकाले छिटोमा भदौ १५ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।