लमजुङ । चालु आर्थिक वर्षमा लमजुङमा १४ वटा मोटरेबल पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत जिल्लाका अति आवश्यक स्थानमा मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेका छन् । पुल निर्माणका लागि २३ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।
प्रदेश सरकारले निर्माण सुरु भएर अधुरा रहेका मोटरेबल पुल र चालु आर्थिक वर्षदेखि निर्माण शुरु गर्ने नयाँ पुलका लागि २३ करोड २९ लाख रुपियाँ बजेट पठाएको हो ।
चालु आर्थिक वर्षमा मोटरेवल पुल निर्माणका लागि ४० लाख रुपियाँदेखि तीन करोड रुपियाँसम्म बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख नरेशराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी रकम मर्स्याङ्दी गाउँपालिका अन्तर्गत स्याँगेमा वडा नम्बर ४ र ५ जोड्ने मर्स्याङ्दी नदीको मोटरेवल पुलका लागि तीन करोड रुपियाँ विनियोजन भएको छ ।
बजेट विनियोजन भएका मोटरेबल पुल योजनामध्ये केही योजनाको गत आर्थिक वर्षमै टेण्डर आह्वान भइसकेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।