काठमाडौं । काठमाडौंमा बिहीबारदेखि अहिंसा महोत्सव सुरु भएको छ । अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपन्छीमाथि मानवजातिले गर्ने हिंसा र त्यसलाई घटाउनेबारे विभिन्न प्रवचन तथा बहस हुनेछन् । पोषणविद्, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू महोत्सवका लागि निम्त्याइएका छन् ।
कार्यक्रम पूर्ण वनस्पतिजन्य भोजनका कक्षदेखि वनस्पतिजन्य उत्पादनका कक्ष समेत रहेका छन् । कार्यक्रममा मासुको विकल्पमा धेरैलाई रुचाइएको सेइटानका परिकार चाख्न पाइनेछ । त्यस्तै, भुइँकटहरबाट बनेको ‘छाला’को झोला समेत प्रदर्शनीको आकर्षणका रूपमा रहेको छ । कार्यक्रमको उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले जलवायु परिवर्तन घटाउनेदेखि मानव स्वास्थ्यको हितका लागि अहिंसामय जीवन आवश्यक रहने बताए । उनले भने, ‘शाहाकारले पशुसँगै समस्त मानवको हित गर्छ, अतः पृथ्वीवासीले पशुजन्य भोजन कम गर्दै पूर्ण वनस्पतिजन्य भोजनतर्फ लम्कनु आवश्यक छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सबै किसिमका हिंसाको जड शक्ति संरचना रहेकाले शक्तिको समतामूलक र विवेकशील विभाजन आवश्यक रहेको बताए । उनले भने, ‘भौतिक र शारीरिक मात्रै नभई मानसिक हिंसाको अन्त्य गर्न हामीले काम गर्नुपर्छ । एउटा संस्कृतिले अर्को संस्कृतिमाथि र पुरुषले महिलामाथि गरेको हिंसाबारे हामीले बृहत्रूपमा बुझ्नुपर्छ ।’ कार्यक्रममा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिले धेरैजसो धर्मको सार अहिंसा रहेको तर कतिपयले धर्मभित्र समेत हिंसाका अंश छिराएर धर्मलाई विरूप बनाएको बताए । शुक्रबार र शनिबार खानपानलगायत विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधि, अहिंसावादीहरूका विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव शनिबारसम्म चल्नेछ ।