काठमाडौं । इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ । कलेजले ‘व्यावहारिक सिप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’को शुभारम्भ गरेको हो ।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशीष ठाकुरले यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने बताए । व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेको उनको दाबी छ । यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नविन उद्योग र उद्यमहरूसँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने जनाइएको छ । सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्नअनुसार रोजगारीको अवसर प्रदान गर्नेछन् ।
कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियरको मार्गदर्शन दिन्छ । इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनीरूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोडभन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ । यस कार्यक्रमले सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खानेगरी नवप्रवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्नेछ ।
सीईओ ठाकुरका अनुसार नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतसम्मको पहुँच सीमित छ । यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिकतन्त्र निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।