काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताएका छन् ।
मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्ने हुँदा यसका पक्षमा जनमत सिर्जना गर्नुेपर्नेमा जोड दिए । उनले पछिल्लो समय समावेशी र समानुतापतिक प्रणालीलाई नेताहरुले नै कमजोर बनाउन लागेकाले त्यसको बचाउ गर्न सम्बद्ध पक्ष एक हुनुपर्ने बताए ।
मन्त्री गुरुङले सङ्घीयता आएपछि सीमान्तकृत समुदायले के–कस्ता उपलब्धि हासिल गरे भन्ने विषयमा तथ्यतथ्याङ्कसहित अध्ययन गर्न सुझाव दिए । उनले लामो समयसम्म गरिएको संघर्ष र त्यागपछि मुलुककमा सङ्घीय शासन प्रणाली कायम भएको उल्लेख गर्दै सरकार निर्माणका क्रममा अझै पनि समावेशी प्रणाली लागू हुन नसकेको बताए । आदिवासी जनजातिको ‘मुभमेन्ट’ सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्रै केन्द्रित भएको बताउँदै उनले अब राजनीतिक र आर्थिक गतिविधिलाई पनि जोड दिनुपर्ने धारणा राखे ।
आदिवासी जनजाति विषयसँग सम्बन्धित विभिन्न पुस्तक सार्वजनिक गरिएको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील नभएको गुनासो गर्दै आदिवासी, जनजातिको हकअधिकार सुरक्षित एवं सुनिश्चित गर्न आवश्यक अध्ययन, अनुसन्धान, छलफल, पैरवी गरी अझ प्रभावकारी र सुदृढ संस्थाका विकास गर्न सक्दो प्रयास भइरहेको जानकारी दिए । कार्यक्रममा प्राडा कृष्ण हाछेंथु, प्राडा योगेन्द्र गुरुङलगायतले आदिवासी जनजातिको अवस्था र पहिचानबारे विश्लेषणात्मक विचार राखेका थिए ।