काठमाडौं ।चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयाम, आपसी हितका विषय र भविष्यमा दुवै देशबीच सहयोगका सम्भावनाबारे विस्तृत छलफल भएको छ। दुवै नेताले ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र आपसी सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटवार्तामा द्विपक्षीय व्यापार, पूर्वाधार विकास, सांस्कृतिक आदान–प्रदान र जनस्तरमा सम्बन्ध विस्तार गर्ने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ।