काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका–८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका–७ घर भएका ३५ वर्षीय विक्रमकुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका–६ घर भएका ४३ वर्षीय जयसिंह भण्डारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका–१ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका–८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई पनि शुक्रबार नैं प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० निलोपुलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।