टोक्यो । जापानको रक्षा मन्त्रालयले शुक्रबार गरिएको अर्को रेकर्ड खर्चको अनुरोधअन्तर्गत आफ्नो ड्रोन शस्त्रागारलाई ठूलो मात्रामा बढाउने लक्ष्य सार्वजनिक गरेको छ । यो कदम ‘गम्भीररूपमा बढ्दो सुरक्षा वातावरण’का चुनौतीहरूलाई सामना गर्न उठाइएको हो ।
हालैका वर्षहरूमा जापानले आफ्नो कडा शान्तिवादी नीति छाड्दै ‘काउन्टरस्ट्राइक’ क्षमता विकास गर्ने र सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को दुई प्रतिशतमा पुर्याउने प्रयास गर्दै आएको छ । अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ८८ खर्ब येन (करिब ५९ अर्ब ९० करोड अमेरिकी डलर)को बजेट अनुरोध गरेको छ । यो रकम सन् २०२६ मार्चमा समाप्त हुने चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको अघिल्लो रेकर्ड ८७ खर्ब येनभन्दा बढी हो ।
दोस्रो विश्वयुद्धको अन्त्य र हिरोसिमा–नागासाकीमा परमाणु बम विस्फोट भएको ८० वर्षपछि पनि जापानको संविधानले अझै आफ्नो सैन्य शक्तिलाई रक्षात्मक सीमाभित्र राखेको छ । तर यो नयाँ बजेट वृद्धिले जापान वरिपरिको बढ्दो सुरक्षा चुनौतीलाई प्रतिबिम्बित गरेको रक्षा मन्त्रालयका एक अधिकारीले टोकियोमा पत्रकारहरूसँग बताएका छन् ।
बजेट अनुरोधअनुसार विभिन्न प्रकारका मानवरहित सवारीसाधन (ड्रोन)मा करिब तीन गुणा खर्च गरेर तीन खर्ब १३ अर्ब येन विनियोजन गर्ने योजना छ । सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि ड्रोनको विनाशकारी क्षमता र आधुनिक युद्धमा यसको बढ्दो प्रयोगलाई विश्वभर गम्भीर रूपमा हेरिएको छ ।
यसै क्रममा, जापानले ‘शील्ड’ भनिने तटीय रक्षा प्रणालीलाई बलियो बनाउन ड्रोन प्रयोग गर्ने योजना अघि सारेको छ । लामो दूरीका ‘स्ट्यान्डअफ’ मिसाइलहरूलाई शत्रु सेनाले बाइपास गरे पनि शिल्ड (सिङ्क्रोनाइज्ड, हाइब्रिड, इन्टिग्रेटेड र एन्हान्स्ड लिटोरल डिफेन्स) प्रणालीले आक्रमणलाई तटीय क्षेत्रमा नै रोक्ने अपेक्षा गरिएको छ ।