काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् ।
सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताउँदै उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गरे ।
राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरे । उनले भने, “राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्द्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।”