काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार छान्न पहिलोपटक प्रयोगात्मक रुपमा गरेको ‘प्राइमरी इलेक्सन’ विवादमा तानिएको छ। गत बिहीबार र शुक्रबार दुई दिन चलाइएको निर्वाचनमा मतदान संख्या आश्चर्यजनकरूपमा न्यून देखिएको छ। रास्वपाको विधानअनुसार प्राइमरी इलेक्सनको व्यवस्था भए पनि यसअघि व्यवहारमा आएको थिएन। तर पहिलो प्रयोगमै मतदान अपेक्षाभन्दा निकै कम हुनुका साथै प्राविधिक समस्या, उजुरी र विवादका कारण यो अभ्यास प्रश्नचिह्नमा परेको छ।
रास्वपाले मतदानका लागि ३६ घण्टाको समय तोकेको थियो। रुपन्देही ३ का २ हजार ७ सय ७८ सदस्य प्राइमरी इलेक्सनका मतदाता थिए। तर, रास्वपाका अनुसार केन्द्रीय सदस्यबाहेक १५ सय ६७ जनाले मात्र मतदान गरे, जुन कुल मतदाताको करिब ५८ प्रतिशत हो। अझ आश्चर्यजनक कुरा के छ भने, ६२ जना केन्द्रीय सदस्यमध्ये ३५ जनाले भोट हालेनन् वा उनीहरूको भोट गणना भएन। आन्तरिक मतदानमा आधाभन्दा बढी केन्द्रीय सदस्यको अनुपस्थितिलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।
केही नेताहरूले रुपन्देही ३ का धेरै सदस्यसँग स्मार्टफोन नहुँदा भोट हाल्न समस्या भएको दाबी गरेका छन्। तर, केन्द्रीय सदस्यहरूको न्यून सहभागितालाई यस कारणसँग जोड्ने तर्क धेरैलाई पत्यारिलो लागिरहेको छैन। यसैबीच, रुपन्देही ३ का झण्डै तीन दर्जन सदस्यले सिस्टम ह्याक भएको र आफूहरूले मतदान गर्न नपाएको भन्दै रास्वपाको केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्। पार्टी स्रोतका अनुसार करिब ३२–३३ उजुरी प्राप्त भएको छ।