काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फम मिन चिन्हबीच चीनको तियान्जिनमा भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा चीन पुगेका ओली र फामबीच साइडलाइन भेटवार्ता भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो क्रममा दुई नेताहरुबीच नेपाल र भियतनामबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने तथा व्यापार, लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलीकरण, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृति, हवाई सञ्जालजस्ता क्षेत्रहरुमा सहकार्य गर्नेबारे छलफल भएको थियो । साथै, अन्तर्राष्ट्रिय मञ्चहरुमा दुवै देशका समान मुद्दाहरुमा सँगसँगै रहेर काम गर्ने सहमति समेत भएको छ । दुवै नेताहरुले एकअर्कालाई आ–आफ्ना देश भ्रमणको निम्तो समेत दिएका थिए ।
त्यसअघि ओलीले तियान्जिन नगरको हुइगुआन गाउँमा रहेको धान उत्पादन क्षेत्रको अवलोकन गरेको दूतावासले उल्लेख गरेको छ । यसबाहेक दिउँसो ओलीले तियान्जिनकै अन्य क्षेत्र, संग्रहालयलगायतको पनि भ्रमण गरेका थिए । आइतबार साँझ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रथम महिला पेङ लियुआनले आयोजना गरेको स्वागतभोजमा सहभागी भएका थिए । सोमबार उनले एससीओ प्लस समिटलाई सम्बोधन गर्नेछन् भने विश्वका नेताहरुसँग भेट्दै छन् ।
मोदीसँग अनौपचारिक कुराकानी
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरूबीच अनौपचारिक कुराकानी भएको हो ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताएका थिए । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।