काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन तीन जना जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन तत्कालीन जिशिअहरु डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालसहित प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत १३ जनाविरूद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ । खोटाङको चार कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भए पनि सर्तविपरीत भवन निर्माणको काम नै नगरी पटक–पटक २४ लाख लिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार मुद्दा दायर गरिएकामध्ये जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसँग १० लाख, दुई जिशिअद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालसँग जनही १४/१४ लाख, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब–इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग आठ लाख रुपैयाँसम्म बिगो माग गरिएको छ ।
यीबाहेक विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेलसँग जनही आठ लाख, विद्यालयका वर्तमान प्रधानाध्यापक नयनकुमार राई र विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीसँग पाँच लाख र भवन निर्माण गर्ने जिम्मा पाएका अर्जुन तामाङसँग १६ लाख रुपैयाँ बिगो माग गरिएको आयोगको भनाइ छ ।