दोलखा । जिल्लामा पछिल्लो समय क्यान्सर रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । दोलखामा हाल तीन सय ३६ जना क्यान्सरका सक्रिय बिरामी रहेकोे पाइएको छ ।
सबैभन्दा बढी क्यान्सर संक्रमितको संख्या जिरी नगरपालिकामा रहेकोे छ भने क्यान्सरबाट मृत्यु हुनेको बढी संख्या शैलुङ गाउँपालिकामा रहेको छ । जिरी नगरपालिकामा ६३ जना क्यान्सर पीडित बिरामी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताए । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा वार्षिक क्यान्सर रोगका बिरामी थपिँदै गएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा जिरी ११ जना क्यान्सर रोगी थिए । हाल उक्त संख्या वृद्धि हुँदै ६३ पुगेको हो । उक्त रोग संक्रमणका कारण यहीँ अवधिमा ११ जनाले ज्यान गुमाएका छन् ।
जिरीपछि वैतेश्वरमा बढी क्यान्सर रोगी रहेका छन् । वैतेश्वर आर्थिक वर्ष २०८१/८२ मा ५८ जना क्यान्सर रोगी रहेकोे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पालिकाको तथ्यांकअनुसार क्यान्सरका कारण पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी, मेलुङ गाउँपालिकामा ४६ जना क्यान्सरका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाइँले जानकारी दिए । क्यान्सरका कारण यस पालिकाका दुई जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका पनि ३६ जना क्यान्सर रोगी रहेका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा हाल ३२÷३२ जना क्यान्सरका सक्रिय बिरामी रहेका छन् । यता तामाकोशी गाउँपालिका पनि ३२ जना क्यान्सर संक्रमित उपचाररत रहेको गाउँपालिकाले जनाएको छ । गौरीशंकर गाउँपालिकामा संक्रमण दर न्यून रहे पनि मृत्युदर भने उच्च रहेकोे छ । यस पालिकामा १५ जना क्यान्सर संक्रमित रहेकोेमा गत वर्ष पाँच जनाको मृत्यु भएको थियो । हाल यहाँ १० जना क्यान्सरका सक्रिय बिरामी रहेका छन् । समग्रमा जिल्लाभर क्यान्सरका कारण मृत्यु हुनेको संख्या पनि उच्च रहेकोे छ । जिल्लाको शैलुङ गाउँपालिका क्यान्सर संक्रमणको कारण पछिल्लो २४ महिनामा १७ जनाको ज्यान गएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए ।
क्यान्सर रोग उपयुक्त खानपान, जीवनशैली, वंशाणुगत, धुम्रपान, मदिरा सेवनलगायतका कारण संक्रमण हुने गर्छ । क्यान्सर संक्रमण हुनेहरु जिल्लामा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । महिलाहरु मुख्यगरी पाठेघर, स्तान क्यान्सर हुने गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले क्यान्सर, मुटु, मृगौला, सिकलसेल, एनेमिया, हेड इन्जुरी, स्पाइनल इन्जुरी र अल्जाइमरजस्ता रोगीलाई मासिक औषधि उपचार खर्च दिने प्रावधान छ । यस्तै, पालिकाले नियमित उपचार खर्च पाँच हजार संघीय सरकारले एक लाख र बागमती प्रदेश सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । केही पालिकाले भने उक्त रोगीहरुको उपचारका लागि २० हजारसम्म दिने गरेका छन् । दोलखामा पछिल्लो १२ महिनाको अवधिमा क्यान्सर रोगका कारण ४६ जनाले ज्यान गुमाएका छन् ।