काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा आइतबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘संविधान निर्माणपछि हामी कानुन निर्माणको चरणमा छौँ, जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ’, उनले भने ।
सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको उनको भनाइ छ । विकास निर्माणमा अवरोध देखिएका कानुनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेको बताए ।
ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारद्वारा निर्मित कानुनबीच तालमेल हुनु जरुरी रहेको उल्लेख गरे । जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानुनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गरे । उनले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको बताए ।